काठमाडौं, १२ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महाविपत्तिबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ भने ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहनु दुःखद् भएको बताएकी छिन ।
आज विहान एक विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यो कठिन घडीमा सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई सर्वाधिक प्राथमिकताका साथ अगाडि बढाउन, प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चारलगायतका अत्यावश्यक सेवा तथा राहतको तत्काल व्यवस्था गर्न म सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सम्पूर्ण सम्बन्धित पक्षलाई आग्रह गरेकी छिन् ।
‘रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण जनधनको ठूलो क्षति भएको दुःखद् र अकल्पनीय खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
यस विपत्तिबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ भने ठूलो संख्यामा मानिसहरू अझै सम्पर्कविहीन रहेको दुःखद् अवस्था छ। नदी तटीय क्षेत्रका बस्ती, घर, सडक, पुल, जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, शैक्षिक संस्थालगायतका संरचनामा भएको क्षतिले विपत्तिको भयावहता स्पष्ट गर्दछ । यस्तो कठिन घडीमा सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई सर्वाधिक प्राथमिकताका साथ अगाडि बढाउन, प्रभावितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चारलगायतका अत्यावश्यक सेवा तथा राहतको तत्काल व्यवस्था गर्न म सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सम्पूर्ण सम्बन्धित पक्षलाई आग्रह गर्दछु ।
विपत्तिको तत्कालीन उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आवश्यक छ। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै आवश्यक स्रोत, साधन र प्राविधिक जनशक्तिको परिचालन गर्न म आग्रह गर्दछु । साथै, यस प्रलयकारी प्राकृतिक विपत्तिको परिप्रेक्ष्यमा सम्पूर्ण राजनीतिक दलहरूलाई आपसी समन्वय, सहकार्य र एकताका साथ राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सक्रियतापूर्वक जुट्न हार्दिक आह्वान गर्दछु’, उनले विज्ञप्तिमा भनेकी छिन ‘यस विपत्तिमा आफ्नो ज्यानको जोखिम मोलेर खोज तथा उद्धार, राहत र मानवीय सेवामा अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, स्वयंसेवक, सञ्चारकर्मी तथा सम्पूर्ण उद्धारकर्मीहरूको साहस, समर्पण र सेवाभावको म उच्च प्रशंसा गर्दछु । प्रभावित नागरिकको जीवनरक्षा र उद्धारमा जुट्नुभएका सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
पूर्व राष्ट्रपति भण्डारीले यस घटनाले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको गम्भीर र बढ्दो जोखिमलाई पुनः उजागर गरेको पनि बताएकी छिन । हिमनदी पग्लिने क्रम, हिमतालको विस्तार, हिमपहिरो, पहिरो तथा आकस्मिक बाढीजस्ता जोखिम हिमाली मुलुक नेपालका लागि दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएका छन् । यस विपत्तिको वास्तविक कारण र घटनाक्रमबारे वैज्ञानिक अध्ययन जारी रहँदै गर्दा जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र विपद्को जोखिममा पारिरहेको प्रभावलाई भने गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाई छ ।
‘जलवायु परिवर्तनको प्रमुख कारकका रूपमा रहेको हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि त्यसका प्रतिकूल प्रभाव भने नेपालले असमान रूपमा व्यहोर्नु परिरहेको छ । त्यसैले जलवायु परिवर्तनबाट हुने हानि–नोक्सानीको विषयलाई नेपालले राष्ट्रिय प्राथमिकताका साथ अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठाउनुपर्छ । जलवायु न्याय, अनुकूलन, पूर्वसूचना प्रणाली, जोखिम न्यूनीकरण तथा हानि–नोक्सानीको सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग र स्रोत परिचालन गर्न नेपालले प्रभावकारी कूटनीतिक पहल गर्न आवश्यक छ ।
साथै, नेपालको विशिष्ट हिमाली भूगोल, भौगर्भिक संवेदनशीलता र बढ्दो जलवायु जोखिमलाई ध्यानमा राख्दै हाम्रो विकासको वर्तमान ढाँचा र पूर्वाधार निर्माणसम्बन्धी सोचमाथि पनि गम्भीर सिंहावलोकन गर्नुपर्ने समय आएको छ । सडक, पुल, जलविद्युत्, बस्ती तथा अन्य भौतिक पूर्वाधारको विकास गर्दा केवल आर्थिक सम्भाव्यता र तत्कालीन आवश्यकतालाई मात्र होइन, दीर्घकालीन वातावरणीय तथा विपद् जोखिम र जलवायु परिवर्तनका प्रभावलाई समेत विकास योजनाको अभिन्न आधार बनाउनुपर्छ ।
हिमनदी, हिमताल, हिमपहिरो तथा पहाडी भूभागको संवेदनशीलता र सीमापारबाट उत्पन्न हुन सक्ने बाढी तथा अन्य जलजन्य विपद्को जोखिमलाई ध्यानमा राखी जोखिममा आधारित भू–उपयोग योजना, सुरक्षित बस्ती विकास र जलवायु–उत्थानशील पूर्वाधार निर्माणलाई राष्ट्रिय विकासको मूलधारमा समावेश गर्न आवश्यक छ। साथै, यस्ता विपद्को पूर्वानुमान, निगरानी तथा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउँदै नेपालका दुवै छिमेकी मुलुकसँग सीमापार पूर्वसूचना प्रणालीको विकास तथा विस्तार गरी विपद् व्यवस्थापन संयन्त्रलाई थप सुदृढ गर्नुपर्छ ।अहिलेको प्राथमिकता जीवनरक्षा र मानवीय उद्धार हो । त्यसपछि राहत, पुनःस्थापना र पुनर्निर्माणसँगै आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्ने दीर्घकालीन र दिगो उपाय अवलम्बन गर्न हामी सबै गम्भीर हुनुपर्छ ।
यस दुःखद् घडीमा विपत्तिबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु । सम्पूर्ण नेपालीलाई मानवीय एकता, सहयोग र सहकार्यका साथ प्रभावित नागरिकको साथमा उभिन हार्दिक आह्वान गर्दछु ’, उनले विज्ञप्तिमा भनेकी छिन् ।


