काठमाडौं, ३० साउन । तीन महिनापछि काठमाडौँ विश्वविद्यालय (केयू) ले उपकुलपति पाएको छ। शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले प्राडा विवेक बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा प्राडा बरालसँगै प्राडा बालचन्द्र लुइटेल र प्राडा राजेन्द्र जोशी रहेका थिए। तीनै जना केयूका प्राध्यापक हुन्।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत केयूका उपकुलपति प्राडा अच्युत वाग्लेलाई हटाएको थियो। त्यसपछि गत जेठ १९ गते बसेको केयूको सभाले शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो।
समितिमा केयूका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य थिए।
शिक्षा मन्त्रालय स्रोतका अनुसार उपकुलपति बन्ने दौडमा बराल अगाडि थिए। उनी सिफारिस सूचीको पहिलो नम्बरमै थिए। त्यसैअनुसार उनको नाम प्रधानमन्त्री कार्यालय पुगेको थियो।
प्राडा बराललाई केयूको उपकुलपति बनाउन शिक्षामन्त्री पोखरेल पनि सकारात्मक थिए। तर, बरालको नाम सिफारिस भएको सूचना बाहिरिएपछि भने उनीमाथि नैतिक र आर्थिक अनियमितताका विषयमा प्रश्न उठेको थियो। जसका कारण उपकुलपति नियुक्तिसमेत रोकिएको थियो।
शिक्षामन्त्री पोखरेलले पनि उपकुलपति सिफारिस भएका व्यक्तिमाथि प्रश्न उठेपछि अनुसन्धान सुरु गरिएको प्रतिक्रिया दिएका थिए। तर बरालमाथि भएको अनुसन्धानका विषयमा थप स्पष्ट नपारी शुक्रबार उपकुलपतिमा नै नियुक्ति दिइएको छ।
विराटनगर घर भएका बराल केयू दोस्रो ब्याचका इन्जिनियरिङ संकायका विद्यार्थी हुन्। केयू पढेर उपकुलपति बन्ने उनी पहिलो व्यक्ति हुन्।
बराल विराटनगरबाट कक्षा १२ उत्तीर्ण गरेर २०५२ सालमा इन्जिनियरिङ विषय पढ्न काठमाडौँ आएका थिए। २०५६ सालमा इन्जिनियरिङ उत्तीर्ण गरे। त्यसपश्चात् उनले केयूमा नै इन्जिनियरिङ पढाउन पाए।
उनी लेक्चरर भएर इन्जिनियरिङ विषय अध्यापन गराउन थाले। २०५८ सालमा उनी जापानको टोकियो विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ विषयमा स्नातकोत्तर गर्न गएका थिए।
बरालले केयूमा पढाउन थालेको २७ वर्ष नाघेको छ। न्युजिल्यान्डमा पढेर नेपाल फर्किएपछि सन् १९९९ मा लेक्चररका रूपमा केयू प्रवेश गरेका थिए। सन् २०१८ मा केयूका प्राध्यापक बनेका थिए।
उनी केयू प्राध्यापक संघका पूर्वसभापतिसमेत हुन्।
बरालको इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ र कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा क्षेत्रमा विशेषज्ञता रहेको छ।
केयूलाई अगाडि बढाउने नै मुख्य एजेन्डा भएको बराल बताउँछन्।
‘उपकुलपतिमा नियुक्त भइरहँदा अब विश्वविद्यालयलाई कसरी अगाडि बढाउने भन्ने चिन्तन आइरहेको थियो। उपकुलपतिको शपथ दिँदा विद्यार्थी भएर केयूमा बिताएको चार वर्ष सम्झिएँ,’ उनी भन्छन्, ‘विद्यार्थी जीवनदेखि प्राध्यापक हुँदै ३२ वर्ष बिताएको विश्वविद्यालयको नेतृत्व गर्ने जिम्मा पाएको छु। पाएको जिम्मा राम्रोसँग सदुपयोग गर्ने छु। म पढ्न आउँदा तीन वटा मात्र भवन थियो। अपेक्षा धेरै थियो। तर निकै मुस्किलले पढेको थिएँ। अहिले चारपाँच अर्बका भवन छन्। केयूले गरेको विकासलाई थप बढाउँदै लैजाने मेरो योजना छ।’
बरालले विद्यार्थी केन्द्रित पढाइको मोडलमा जोड दिने बताए।
‘पढाइ सकेपछि विद्यार्थीमा के सीप सिके भनेर पहिल्याउने गरी ‘आउटकम बेस्ड लर्निङ’ मा मेरो जोड हुने छ,’ उनले भने।
बराल केयूमा सबै खालमा विद्यार्थी केन्द्रित समावेशी भवन, विद्यार्थी छलफल गरेर बस्ने भवन नभएको बताउँछन्।
‘विदेशमा विद्यार्थीहरू कक्षा कोठाबाहिर छलफल गर्ने भवन हुन्छ। हाम्रोमा गेटबाहिर चिया पसलमा मात्र विद्यार्थीको भेट हुने हुन्छ। विद्यार्थी एकआपसमा छलफल गर्ने योजना बनाउने भवन बनाउन सकेका छैनौँ,’ उनी थप्छन्, ‘तत्काल विद्यार्थी केन्द्रित भवन बनाउने त्यसमा केही काम गर्ने योजना बनाएको छु।’


