काठमाडौं, २७ कात्तिक ।
नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आगमी स्थानीय तह र प्रदेशसभा निर्वाचन तथा सरकारविरुद्धको सम्भावित आन्दोलनको वार्मअपमा केन्द्रीत हुने भएको छ ।
आगामी २ र ३ मंसिरका लागि बोलाइएको भेला त्यसतर्फ केन्द्रीत गर्नेगरी संचालन गर्न केन्द्रीय सचिवालयबाट गृहकार्य गर्ने एमालेको तयारी छ ।
त्यस्तै, भेलालाई संगठन सुदृढिकरण र आन्तरिक एकतामा जोड राष्ट्रिय मञ्चका रुपमा परिणत गराउने पनि तयारीसमेत भइरहेको छ ।
कार्की बैंक्वेट बबरमहलमा आयोजना गरिएको भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यस्तै, भेलालाई ओली र वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूचि तय भएको छ । दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारीबाट पार्टी काममा फर्किएपछि पार्टीको ठूलो मञ्चममा पहिलो पटक भण्डारीले सम्बोधन गर्दैछिन् ।
प्रचार विभाग प्रमुख निरज आचार्यले भेला पार्टी नेता–कार्यकर्तामा जागरण पैदा गर्दै आगामी निर्वाचनमा केन्द्रीत हुने बताए । त्यसैको तयारीका लागि राष्ट्रिय भेलाका प्रतिनिधिहरुलाई छलफल र निर्देशनका लागि तीनओटा अलगअलग कार्यपत्र प्रस्तुत गर्ने तयारी रहेको पनि उनले संचार माध्यमहरुलाई जानकारी गराएका छन्।
जसअनुसार उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेले अहिलेसम्म नेतृत्व गरेका सरकारका उपलब्धिहरु र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको संसदीय संघर्ष र खेल्नुपर्ने भूमिकाहरुका विषयमा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी सुद्धिकरण, सुदृढिकरण र आगामी निर्वाचनको कार्ययोजनासम्बन्धि कार्यपत्र पेश गर्नेछन् । तिनै जनाको कार्यपत्रको सेरोफेरोमा केन्द्रीत रहेर दुई दिनसम्म भेलामा आन्तरिक छलफल गर्ने तयारी छ ।
भेलामा ३ करिब ३ हजार ४ सय प्रतिनिधि सामेल हुँदैछन् । धेरै प्रतिनिधि, छोटो समय र साँघुरो हलका कारण समूहगत छलफल नगरी विभिन्न विषय र मुद्दाहरुमा प्रतिनिधिहरुबाट लिखित रुपमै सुझाव संकलन गरी पास गर्नेगरी एमालेले आन्तरिक तयारी गरिरहेको छ ।
‘भेलामा कार्यकर्ताबाट कसरी सुझाव लिएर अघि बढ्ने सवालमा केही महत्वपूर्ण विषय र मुद्दाहरुमा लिखित सुझाव लिएर त्यही निष्कर्षका आधारमा पार्टीलाई अगाडि बढाउनेगरी नेताहरुबीच छलफलको मोडल कस्तो बनाउने विषयमा अहिले कुराकानी चलिरहेको छ’ आचार्यले भने,‘राष्ट्रिय भेलामा कार्यकर्ताहरुको सुझाव लिएरै पार्टीलाई सम्पूर्ण सामाथ्र्य चुनाव केन्द्रीत गर्ने एमालेको तयारी छ ।’
एमालेभित्र स्थानीय तहको उम्मेद्वार सम्बन्धित तहको कमिटीबाटै निर्णय गर्न दिनुपर्ने देशैभर आवज उठिरहेको छ । तलका उम्मेद्वार माथिबाट छान्दा कार्यकर्ताको सार्वभौम अधिकारमाथि हस्तक्षेप हुने भएकाले पार्टीलाई वलियो बनाउन र चुनाव जिताउन तलबाटै उम्मेद्वार छान्नुपर्ने दबाब एमालेभित्र बढिरहेको छ । राष्ट्रिय भेलाका प्रतिनिधिहरुले त्यस विषयमा पनि आ–आफ्नो तहबाट सुझाव राख्नसक्ने एमाले नेताहरुको आँकलन छ ।
पूर्व जर्नेल एमाले भेलाको स्वयंसेवक कमाण्डर
भेलाको व्यबस्थापनका लागि सचिव भानुभक्त ढकालको संयोजकत्वमा मूल समिति सकृय छ । त्यस्तै, केन्द्रीय सदस्य तथा नेपाल भूतपूर्व सैनिक–प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेको नेतृत्वमा स्वयंसेवक उपसमितिले भेला र नेताहरुको सुरक्षा व्यबस्थापनलगायतको तयारीको काम गरिरहेको छ । पाण्डे अवकासप्राप्त पूर्व सहायकरथीसमेत हुन् । उनलाई अध्यक्ष ओलीको प्रस्तावमा पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको सदस्यको जिम्मेवारीमा पनि राखिएको छ ।
कार्की बैंक्वेटको भित्री हल, बाहिरी प्रांगण र पार्किङ क्षेत्रमा प्रतिनिधिहरुलाई राखेर भेला संचालन गर्ने तयारी छ । प्रतिनिधिहरुका लागि खानाबाहेक आवासको सुविधा छैन ।
८ असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भेला आयोजना गर्ने निर्णय गर्दै तयारी समिति बनाएको थियो । राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिहरु सहभागी हुनेछन् ।
भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चका तर्फबाट ५५ जना सहभागी हुनेछन् ।
त्यस्तै, ७७ जिल्ला, सम्पर्क कमिटीअन्तर्गतका सात जिल्ला कमिटी र राजधानी प्रदेशअन्तर्गतका चार जिल्लासहित जिल्ला तहबाट ४४० जनाको सहभागिता रहनेछ ।
पालिकास्तरका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट एक जनाका दरले १ हजार ५०६ जना सहभागी हुनेछन् । त्यस्तै, संघीय संसद् तथा राष्ट्रिय सभासहित ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका निर्वाचित प्रतिनिधिमध्ये मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना र उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना सहभागी हुनेछन् ।
त्यस्तै, जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ । विशेष र समसामायिक प्रस्तावहरु पास गर्दै भेला सम्पन्न हुनेछ ।


