काठमाडौं, २६ कात्तिक ।
पूर्व महामन्त्री शशांक कोइरालाको नेतृत्वमा निवतर्मान सभापति शेरबहादुर देउवा पक्षले आगामी २१ देखि २३ मंसिरका लागि १५ औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहँदा वरिष्ठ नेता शेखर कोइराला पक्ष त्यसमा सामेल नहुने भएको छ ।
दसैंअघि सम्पन्न गगन थापा नेतृत्वको संस्थापन पक्षको महाधिवेशनमा पनि औपचारिक रुपमा सहभागी नभएको शेखर समूह देउवा पक्षको महाधिवेशनमा पनि सामेल नहुने निश्चित भएको हो ।
शेखर पक्षले देउवा पक्षको महाधिवेशन सकिएलगत्तै देशैभर दुवै पक्षलाई आह्वान गर्दै राष्ट्रिय एकता अभियान संचालन गर्ने आन्तरिक योजना बनाइरहेको छ ।
यद्यपि, शेखर पक्षमा रहेका अधिकांश नेताहरु संस्थापन र देउवा पक्षतिर बाँडिएका छन् । धेरैजसो नेताहरु देउवा पक्षबाटै महाधिवेशन तयारीको सिलसिलामा वडा, पालिका र जिल्ला नेतृत्वमा धमाधम आइरहेका छन् । केही पंक्ति भने शेखरसँगै राष्ट्रिय एकता अभियान चलाउने तयारीमा छन् ।
‘हामी देउवा पक्षको महाधिवेशनमा सहभागी हुँदैनौं, अलग्गै एकता अभियान चलाउने तयारीमा छौं ।’ शेखर पक्षमा रहेका एक प्रभावशाली नेताले भने ।
पूर्व सहमहामन्त्री तथा राष्ट्रियसभा सांसद बद्री पाण्डे, नेता वलबहादुर केसी, सञ्जय गौतम र सरिता प्रसाईंसहितका नेताहरु भने शेखरलाई साथ दिएर एकता अभियान चलाउने तयारीमा छन् ।
यद्यपि, वरिष्ठ नेता शेखर देउवा पक्षले गरिहेको कार्यक्रममा सामेल पनि हुँदै आएका छन् । शेखर पक्षका एक नेताले सर्वोच्च अदालतमा विचाराधीन मुद्दासमेत रहेकाले त्यहाँबाट जे फैसला आउँछ, त्यसैलाई बोकेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने लाईनमा उनी रहेको र त्यसअनुसार नै अभियान चलाइने जानकारी दिए ।


