काठमाडौं, २८ साउन ।नेपाली कांग्रेसको विद्रोही पक्षले भेलाको तालिका सार्वजनिक गरेको छ ।
पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकै दिन विद्रोही कांग्रेसले आगामी राष्ट्रिय भेलाको तालिका सार्वजनिक गरेको हो ।
लामो समयको स्वास्थ्य उपचारपछि साउन २६ गते स्वदेश फर्किएका देउवाको स्वागतमा प्रतिकूल मौसमका बाबजुद पनि सहभागी भएका पार्टीका विभिन्न तहका नेता, कार्यकर्तालाई धन्यवाद दिएको छ ।
राष्ट्रिय भेला आयोजक समितिका संयोजक मीन विश्वकर्माद्वारा जारी प्रेस विज्ञप्तिमा देउवालाई सभापतिकै रुपमा सम्बोधन गरिएको छ ।
विज्ञप्ति अनुसार साउन २९ गते अर्थात भोलि नै राष्ट्रिय भेला सुरु हुने भएको छ । उक्त भेलाको उद्घाटन बिहान साढे ११ बजे मिराक पार्टी भेन्यू सुकेधारामा हुनेछ ।
साउन ३० र ३१ गते बन्द सत्र राखिएको छ ।

नेपाली कांग्रेसका निवर्तमान सभापति देउवाले स्वदेश फर्किएलगत्तै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले आफूमाथि छानबिनका नाममा बदमासी गर्न खोजेको आरोप लगाउँदै उनले आक्रोशित हुँदै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’
उनले भने, ‘ऐतिहासिक कालखण्डदेखि नै मुद्दा खेपेको व्यक्ति हुँ म । हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो । शाही शासन अन्त्य गरेर गणतन्त्र ल्याउन मैले चाहेर मात्रै हुने थिएन, मैले गर्न सक्ने थिएन, नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’
अदालतप्रति पूर्ण विश्वास रहेको उनले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित घर जलाइदिएपछि खरानीमा पैसा जलेको भन्दै सरकारले छानबिन गरेको थियो ।
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ भने प्रहरीले देउवा दम्पतीविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको थिएन ।


