काठमाडौं, २८ साउन । नेपाल प्रहरी पूर्व प्रहरी संगठन प्रमुख मञ्चले सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले व्यक्त गरेको अभिव्यक्तिप्रति खेद व्यक्त गरेको छ।
बुधबार बसेको बैठकमा नेपाल प्रहरीले गत प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि खरिद गरेको पोशाकलगायत विविध विषयमा भएको छलफलमा सुनारले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका तत्कालीन प्रमुख राजु अर्याल, तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल लगायतलाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
भ्रष्टाचार गरेको पुष्टि भइसकेको जसरी सुनारले आरोप लगाएपछि समितिकै सांसदहरूले पनि आपत्ति जनाएका थिए। सुनारको शैली र अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। अवकासप्राप्त सबै प्रहरी प्रमुखहरूको संगठनले पनि बिहीबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘विशेष गरी बैठकमा प्रतिनिधि सभा सदस्य माननीय खगेन्द्र सुनारज्यूबाट नेपाल प्रहरी र वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूलगायतका विषयमा व्यक्त विचार संसदीय मर्यादा, पदीय गरिमा र शिष्टाचारविपरीत रहेको हाम्रो ठहर छ’, पूर्व प्रहरी संगठन प्रमुख मञ्चले भनेको छ, ‘नेपाल प्रहरीको नेतृत्व स्थापित कानुनी प्रक्रिया, व्यावसायिक निष्ठा, विज्ञता र इमानदारीका आधारमा चयन हुने संस्थागत पद हो। तसर्थ, कुनै पनि जनप्रतिनिधिबाट राष्ट्रको जिम्मेवार सुरक्षा निकाय र यसको नेतृत्वमाथि पूर्वाग्रही भई निरन्तर रूपमा गरिने व्यक्तिलक्षित टीकाटिप्पणीप्रति यो मञ्च खेद प्रकट गर्दछ।’
सरकारी एवं संस्थागत विषयका सम्बन्धमा उठ्ने समसामयिक राष्ट्र र जनसरोकारका मुद्दाहरू तथा तिनका उजुरीउपर मुलुकको लघु संसदका रूपमा रहेका संसदीय समितिहरूमा यथेष्ट छलफल र निर्मम बहस हुनु वाञ्छनीय भएको पनि पूर्वप्रहरी प्रमुखहरुले भनेका छन्।
‘संसदीय समितिको यो प्राधिकारलाई यो मञ्च पूर्णतया सम्मान गर्दछ। तथापि, देश र जनताको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरी जस्तो गरिमामय संगठन र यसको नेतृत्वमाथि तथ्यहीन, अपमानजनक र नकारात्मक भाष्य निर्माण गर्ने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायसंगत हुन सक्दैन। सांसद जस्तो गरिमायुक्त र जिम्मेवार पदमा आसीन व्यक्तित्वबाट व्यक्त यस्ता अमर्यादित अभिव्यक्तिले संसदीय व्यवस्थाकै शाखमाथि प्रश्नचिह्न खडा गर्ने जोखिम रहन्छ’, पूर्वप्रमुखहरूको ठहर छ।
सुनारलाई आफ्नो भाषाशैली र व्यवहारमा सुधार गर्दै पदीय जिम्मेवारीको गाम्भीर्यतालाई मनन गर्न र यस्ता मनोगत अभिव्यक्तिहरू नदोर्होयाउन आग्रह गरिएको मञ्चका संयोजक पूर्वप्रहरी प्रमुख मोतिलाल बोहराले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।


