काठमाडौं, २८ साउन ।
लोकतन्त्रमा जित–हार सामान्य मानिन्छ । किनभने राजनीतिमा दिनपछि रात आउँछ भने जस्तै यस्तै प्रक्रिया चलिरहन्छ । त्यसैले चुनावी जितहार भन्दा पनि राजनेताका रुपमा अगाडि बढ्न खोज्नेहरु जनताको बीचमा पुगेर उनीहरुको चासो, माग सम्बोधन गर्ने काममा अहोरात्र खटिरहन्छन् ।
चुनाव जितेपछि मतदातलाई धन्यवाद ज्ञापन गर्ने विषय त राजनीतिमा स्थापित सामान्य शिष्टाचारकै रुपमा पनि लिने गरिन्छ । तर, आश्चर्यको विषय यो छ कि, २१ फागुनको चुनावमा ५० हजारभन्दा बढि फराकिलो मतान्तरले जितेर देशकै बागडोर सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाह मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्ने सामान्य राजनीतिक शिष्टाचार पूरा गर्न पनि करिब ६ महिनासम्म झापा फर्किएका छैनन् । उनी झापा ५ बाट एमाले अध्यक्ष ओलीलाई पराजित गर्दै विजयी भएका थिए ।
झापामा आवास, डुवानलगायत अनेक समस्या भोगिरहेका सुकुम्बासीसहित ५ नम्बर क्षेत्रका मतदाताले प्रधानमन्त्री बालेनको दिनैपिच्छे जस्तो खोजिगरिरहेका बेला गत २१ फागुनको निर्वाचनमा पराजित एमाले अध्यक्ष केपी शर्मा ओली भने शनिवार झापा पुग्दैछन् ।
दुई दिनसम्म गृहजिल्ला रहने क्रममा ओलीले शनिवारै इलामको फिक्कल पुगेर पार्टी सम्बद्ध जनजाती महासंघको कार्यक्रम उद्घाटन गर्नेछन् भने भोलिपल्ट अर्थात ३१ साउनमा बिर्तामोडमा पार्टी पुनर्जागरण अभियानसम्बन्धि कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन् ।
‘उहाँ दुई दिन गृहजिल्लामा रहनुहुन्छ, त्यसक्रममा जनता, पार्टीका नेता–कार्यकर्ताहरुसँग पनि भेटघाट गर्नुहुन्छ ।’ कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले भने ।
दुई दिने कार्यक्रमपछि ओली काठमाडौं फर्किनेछन् । वुधबार साँझ उनले महासचिव शंकर पोखरेलसँग केन्द्रीय सचिवालय बैठक बोलाउनेलगायत पार्टीको आन्तरिक विषयमा छलफल गरेका थिए ।


