काठमाडौं, ३० साउन । खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ। ग्यास खरिदका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ।
निगमले काठमाडौंको टेकुस्थित निगम परिसर, यातायात कार्यालय परिसर चावहिल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी बसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री गर्ने जनाएको छ।
यी बिक्री केन्द्रमा नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री हिमाल, एपी, श्रीमाया, श्रीकृष्ण, साइवावा, ओम, भानु, एसटीसी, लोकप्रिय र सूर्यलगायत विभिन्न ब्रान्डका एलपी ग्यास सिलिण्डर उपलब्ध हुने निगमले जनाएको छ।
निगमका अनुसार ग्यास खरिद गर्न अति आवश्यक भएका उपभोक्ताले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर सिलिण्डर खरिद गर्न सक्नेछन्।
तर, निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र सम्बन्धित ग्यास उद्योगहरूले आफ्ना बिक्रेतामार्फत नियमित रूपमा बिक्री वितरण गरिरहेको स्पष्ट पारेको छ। त्यसैले असहज अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र विशेष बिक्री केन्द्रबाट ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।
निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना हुने गतिविधिमा संलग्न नहुनसमेत आग्रह गरेको छ।


