नुवाकोट, १२ भदौ । ‘रसुवाको उत्तरगयामा सरकार देखिएन’बाढीले सर्वनाश गरेको क्षेत्रका जनताले देखाएको आक्रोस सुन्ने हो हाम्रो सरकार आकाश र सामाजिक सञ्जालमा मात्रै देखिएको हो प्रश्न उठेको छ । नुवाकोटको बान्द्रमाथि दुई गाउँसम्म पुगेर त्यहाँको अवस्था हेर्ने हो भने सर्वसाधरणले सरकारलाई नुवाकोटको विदुर नगरपालिकामा मात्रै भेटाउछन् । अन जनता गुनासो गर्छन– ‘सरकार आकाशमा देखियो, कालो चश्मामा देखियो, त्यो चश्माले जनताको दुःख देख्दैन ।’
भोटेकोशीमा विनाशकारी बाढी आएको भोलिपल्ट बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहले क्षतिको स्थलगत अवलोकन गरे । उनी सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगे । विदुर जानुपूर्व प्रधानमन्त्री बालेन्द्र शाहले बाढीको इपी सेण्टर रसुवा टेक्न सकेनन । त्यहाँबाट फर्केर प्रधानमन्त्री शाहले मुख्य सचिव र सचिवहरूसँग छलफल गरी उद्धार तीव्र बनाउन, घाइतेको प्रभावकारी उपचार व्यवस्था मिलाउन र विस्थापितलाई राहत उपलब्ध गराउन निर्देशन दिए तर उनले सेनाको क्याम्पमा रहेका कसलाई भेटे ? नुवाकोटवासी , रसुवावासी वा काठमाडौबाट आफन्तको खोजीमा गएका नागरिकलाई ? यो प्रश्न त्यहाँ जनताको हो ।

सरकारले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर देशभरका हेलिकोप्टरलाई उद्धारमा परिचालन गरेको बताएपनि रसुवाका जनता त्यो मान्न तयार छैनन । नुवाकोटको विदुर नगरपालिका ढुंगे बजारबाटमाथि कुनै पनि सवारी साधान जान सक्दैन । पैदल यात्रा पनि गर्ने अवस्था छैन ।
विहिबार दिउसो प्रधानमन्त्रीका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि थिए । विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रधानमन्त्रीले गरेको बैठकमा प्रधानसेनापति अशोक सिग्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा अधिकारी सहभागी भए । तर उनले त्यहाँ पुगेर पीििडतहरुको अवस्थालाई राम्रोसँग ध्यान दिएनन । त्रिशुली बजार सबै खण्डर बनेको अवस्था छ । तुलनात्मक रुपमा त्रिशुलीका जनताले भौतिक र पूर्वाधार सम्पत्ति गुमाएपनि ज्यान भने बचाएका छन् । देवीघाटसम्म सडक राम्रो छ । देवीघाटको ऐतिहासिक बजार धुलिसात भएको छ । नाम निसाना छैन । सडकमार्गबाट सेनाको क्याम्पमा पुगेका प्रधानमन्त्री विदुरबाट चार किलोमिटर बाटोमा पर्ने देवीघाट बजार जान सकेनन । जनताको गुनासो सुन्ने कुरा त धेरै टाढाको विषय बन्यो ।
०००
रसुवादेखि नुवाकोटको देवीघाटसम्मको बाढीपहिरो प्रभावित क्षेत्र अत्यन्तै भयावह र हृदयविदारक छ । नुवाकोटको ठूलो भूभाग र लगभग सम्पूर्ण रसुवा जिल्लामा सडक, सञ्चार र विद्युत् सेवा प्रणाली गम्भीर रूपमा क्षतविक्षत भएपछि त्यहाँका नागरिक सञ्चारसम्पर्कबाट विच्छेद भएका छन् । सडक नभएका कारण खाद्यान्नको अभाव र आधारभूत आवश्यकता पूर्ताल हुन सकेको छैन । कतिपय ठाउँमा बस्ती छैन । घर, परिवार, सम्पत्ति र जीविकोपार्जन गुमाएका नागरिकहरू अहिले न गाँस, न बास, न भरोसाको अवस्थामा छन् ।सबैभन्दा पीडादायी अवस्था आफ्ना परिवारका सदस्य गुमाएका र आफन्तको अवस्था थाहा नभएका नागरिकहरूको छ । धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन्, कतिपय अझै बेपत्ता छन् । उद्धार तथा खोजी कार्य अपेक्षित गतिमा अघि बढ्न नसक्दा पीडितको पीडा झन् गहिरिँदै गएको छ । खानेपानीका मुहान, पाइपलाइन, ट्यांकी तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ । सुरक्षित खानेपानीको अभाव गम्भीर बन्दै गएको छ । खाद्यान्नको अभाव उत्तिकै चिन्ताजनक छ । बृद्ध नागरिक, बालबालिका र महिला एक मुठी चिउरा चाउचाउका लागि पर्खिनुपर्ने अवस्था देखिनु सामान्य राहतको अवस्था होइन यो गम्भीर मानवीय संकट हो ।अर्कोतर्फ, बाढीमा बगेका तथा पहिरोमा पुरिएका पशुचौपायाका मृत शरीर यत्रतत्र छरिएका छन् । कतिपय ठाउँमा ती सडेर दुर्गन्ध फैलिन थालेको छ । समयमै शव तथा मृत पशु व्यवस्थापन गर्न नसके यसले थप संक्रामक रोग फैलिने अवस्थामा पुगेको छ ।
००००
विदुरबाट करिब ८५ किलोमिटर बाटो क्षतविक्षत रहेको छ करिब १५ वटा पुल भत्किएका छन् । खोला किनारका सबै बस्ती बगाएको छ । त्रिशुली र वेत्रावती नजिक रहेका बान्द्रे सिमचौरवासीको अन्दाजमा अब त्रिशुली किनारमा फेरी मानववस्ती बस्न कठिन छ । रसुवागढीबाट त्रिशुली बजारको किनारसम्म रहेका सबै बस्ती बगाएको र त्यहाँ बस्ती बस्न लायक नभएको स्थानीयहरु दावी गर्छन । उनीहरुको भनाईलाई अधारमा मान्ने हो भने बीस हजार भन्दा बढी मानिसहरु हराइरहेका छन् ।
सरकारले प्रभावित क्षेत्रमा हेलिकोप्टर पठाउने, उद्धार टोली परिचालन र राहत सामग्री पठाउने कार्यको अनुगमन तथा निर्देशन गरिरहेको देखिन्छ । तर सवारी साधान जाने अवस्था नबनेको हेलिकोप्टरको भर पर्नुपर्ने अवस्थाका कारण त्यो प्रभावकारी देखिएको छैन । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले उद्धार, राहत र पुनःस्थापनाका लागि कार्य विभाजन गरेर विभिन्न १२ टिम बनाएको छ । ‘रसुवा बाढीसम्बन्धी परिचालन समिति’ नाममा मोबिलाइजेसन टिम गठन गरिएको छ ।
सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वमा रहेको इमर्जेन्सी कम्युनिकेसन टिममा नेपाल टेलिकम, एनसेल, नेपाली सेना, नेपाल प्रहरी र गृह मन्त्रालयका सदस्य छन् । त्यस्तै विद्युत् पुनःस्थापना र ब्याकअप पावर टिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मोहन शाक्यको नेतृत्वमा टिम बनाइएको छ । जसमा नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल प्रहरी र गृह मन्त्रालयका कर्मचारी छन् । तर त्यसक्षेत्रका नत सञ्चार सम्पर्क छ नत विद्युत र खानेपानीकै अवस्था सहज भएको छ ।

००००
नुवाकोटको बटारस्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर रसुवा, धादिङ, गोरखा, चितवन, काठमाडौंका धेरै भेटिन्छन । उनीहरु सबै आफन्तको पर्खाइमा रहेका छन् आफन्तको हुलिया सेनाको हेल्प डेस्कमा नाम टिपाएर हरेकपल्ट हेलिकोप्टरमा ध्यान दिन्छन । करिब आधा अधा घण्टाको फरकमा हेलिकोप्टरले केही मानिसहरुलाई उद्धार गरेर ल्याउछ तर उनीहरुले आफन्तलाई पाउन सकेका छैनन । भीडमा आफन्त खोजिदिन याचना गर्नेहरु धेरै छन् । कोही रोइरहेका थिए, कतै परिवार हराएको बिलौनामा चिच्याइरहेको देखिन्थ्यो । सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधीखोजी गर्नेहरू पनि भेटिन्थे । तर कसले कसलाई खोज्ने हो कहाँ खोज्ने हो सबै अन्यौलमा छन । नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरले घाइते र बाढीमा फसेकाहरूको उद्धार गरिरहेका छन् । उद्धार गरिएकाहरूको प्रारम्भिक उपचार गरेर परिवारको जिम्मा लगाउने गरिएको छ । यद्यपि सेनाको ब्यारेकभित्र भएकाले सर्वसाधरणले आफ्नो पहँुच कम पाएका छन् । नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, चितवनका धेरै नागरिकहरु सम्पर्क बाहिर रहेको त्यहाँ पुगेपछि थाह हुन्छ । मानिसमात्र होइन लाखौ पशुचौपायहरुको एक साथ पुरिएका छन् । रसुवा गढीबाट नुवाकोटको ढुंगेबजार सम्म आउदा हजारौ घर भत्किएका छन् । तुलनात्मक रुपमा त्रिशुली बजारमा मानवीय क्षति कम भएपनि रसुवागढीदेखि टिमुरे हुँदै वेत्रावतीबजार सबै बगाउदा मानवीय क्षति अकल्पनीय छ ।

००००
यो समाचार तयार पार्दासम्म धुन्चेमा पुग्ने वैकल्पिक मार्ग खुल्न सकेको छैन । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्डमा सवारीसाधन सञ्चालन हुने गरी कार्यअघि बढेको भएपनि ट्रयाक ओपन भएको बाटो खोल्न सरकारलाई तीन दिनभन्दा बढी लागेको छ । बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको छ । सेनाको हेलिकोप्टरमा केही सरकारी सञ्चारकर्मीलाई लगेर रिपोटिङ गराइएको छ तर अन्य नीजि क्षेत्रका सञ्चारकर्मीहरु जान सकेका छैनन । स्थानीय वासिन्दाहरुले दिएको सूचना अनुसार वेत्रावती वजार क्षेत्र, कैदलेटार, पैरेबेसी, भुकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी वसोबास गरिरहेका झण्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशुली ३ ए जलविद्युत आयोजनाको ठूलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामदाहरू ठूलो संख्यामा हराएका छन् । यद्यपि यो विषय सरकारलाई जानकारी गराइएको र सरकारल वेवास्था गरेको उनीहरुको गुनासो छ ।

०००
बाढी पहिरोमा परेर मृत्यु भएका नागकिहरुको शव भेटिने क्रम पनि जारी नै छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले अहोरात्र खटेर उद्धार गर्नेक्रममा शव भेटिएका छन् । तर त्यसको व्यवस्थापनमा निकै समस्या उत्पन्न भएको छ । टाढाटाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ । चितवनमा रहेका स्वास्थ्य संस्थाहरूमा अधिकतम ५० वटा शव राख्न सक्ने क्षमता छ । तर भेटिएका शव संख्या करिब हजार पुग्न लागेको छ । शवको संख्या बढ्नसक्ने भन्दै त्यसलाई प्याक गर्ने प्लाष्टिक भारतसँग सहयोग माग्न थालिएको छ । यसर्थ अहिले शवको विस्तृत विवरण संकलन, तस्वीर र अन्य पहिचानसम्बन्धी प्रमाण सुरक्षित गरेर मात्रै व्यवस्थापन गर्नेतर्फ सरकार लागेको छ । त्रिशुलीको विदुरमा अहिले शव व्यवस्थापनमा पनि समस्या देखिएको छ ।
००००
त्रिशुली बान्द्रेका एक होटल व्यवशायीको भनाईलाई अधार मान्ने हो सयौ कन्टेनरहरु उतै विलाएका छन् । अर्थात रसुवागढीबाटै हराएका छन् । मालबाहक कन्टेनरहरु ४०० सय भन्दा बढी यता फर्केका छैनन । करिब २ सय स्करपियो गाडी त्रिशुलीबाट छुटेका फर्केका छैनन । दर्जनौ यात्रुबहाक सवारी साधानको अवस्थापनि उही रहेको छ ।



