काठमाडौं, ३० असोज । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुन कार्यान्वयन र प्रहरी सेवा प्रवाहमा उच्च मनोबल,अटुट प्रतिबद्धता तथा पूर्ण व्यावसायिकताका साथ राष्ट्र र नागरिकप्रतिको दायित्व निर्वाह गर्न सबै प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।
७१औँ प्रहरी दिवस तथा बडादशैँ,शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले नेपाल प्रहरीले सात दशक लामो गौरवशाली यात्रामा विभिन्न आरोह–अवरोह र सुरक्षा चुनौतीको सामना गर्दै राष्ट्र र नागरिकको सेवामा निरन्तर योगदान पु्र्याउँदै आएको सन्दर्भ उल्लेख गरेका छन् ।
महानिरीक्षक कार्कीले नेपाल प्रहरीको संस्थागत विकास,क्षमता अभिवृद्धि र सेवा सुदृढीकरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सहयोगी निकाय तथा आम नागरिकबाट प्राप्त सहयोग, सद्भाव र विश्वासप्रति आभार व्यक्त गरेका छन्। ‘विपदमा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने आदर्शलाई अघि बढाउँदै बदलिँदो सामाजिक–आर्थिक, राजनीतिक तथा प्रविधिगत परिवेशबाट उत्पन्न सुरक्षा चुनौतीको प्रभावकारी सामना गर्न सक्षम, व्यावसायिक र प्रविधिमैत्री प्रहरी संगठन निर्माणलाई प्राथमिकता दिइएको सन्देशमा उल्लेख छ।
राष्ट्र र नागरिकको सेवामा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको बलिदान तथा उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति सम्मान व्यक्त गर्दै उनले अमर प्रहरीका परिवारको हकहित, संरक्षण र कल्याण सुनिश्चित गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए । घाइते तथा अशक्त प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत शुभकामना सन्देशमा व्यक्त गरेका छन्।
संगठनको पहिचान, प्रतिष्ठा र विश्वसनीयता निर्माणमा जीवनको महत्वपूर्ण समय समर्पण गर्ने अग्रज प्रहरी कर्मचारीप्रति उच्च सम्मान व्यक्त गर्दै इमानदारी, कर्तव्यनिष्ठा र निर्भीकताका साथ नागरिक सेवामा समर्पित प्रहरी कर्मचारीको योगदानको पनि उनले प्रशंसा गरेका हुन् ।
यसबीच प्रहरीले यो वर्ष पूर्ण शान्ति पुरस्कार प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई र पुलिस ब्याटन लुम्बिनीका डिआइजी भुपेन्द्र खत्रीलाई प्रदान गर्ने भएको छ ।



