काठमाडौं, १५ भदौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि निजी क्षेत्रका विद्युत् उत्पादकहरूबाट हालसम्म आठ करोड १९ लाख रुपैयाँ सहायता जुटाएको जनाएको छ ।
इप्पानले यसअघि संस्थाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच करोड पाँच लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । विपद्को घडीमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूले उदारतापूर्वक सहयोग गरेपछि सहायता रकम बढेर हालसम्म आठ करोड १९ लाख रुपैयाँ पुगेको इप्पानले जनाएको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार, सोमबारसम्म उक्त सहायता रकम १० करोड रुपैयाँ नाघ्ने गरी संस्थाले थप पहल गरिरहेको छ । “विपद्को घडीमा निजी क्षेत्रका विद्युत् उत्पादकहरूले उदारतापूर्वक सहायता गर्नुभएको छ,” अध्यक्ष डाँगीले भने, “हालसम्म आठ करोड १९ लाख रुपैयाँ सहायता प्राप्त भइसकेको छ र सोमबारसम्म १० करोड रुपैयाँ नाघ्ने गरी हामीले पहल गरिरहेका छौँ ।”
इप्पानले संकलन गरेको सहायता रकम सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
सोमबार आयोजना गरिने एक कार्यक्रममा सहायता रकमको चेक तथा भौचर हस्तान्तरण गरिने इप्पानले जनाएको छ ।
बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि निजी क्षेत्रका ऊर्जा उत्पादकहरूबाट सहयोग जुटाउने अभियानलाई इप्पानले तीव्रता दिएको जनाएको छ ।


