काठमाडौं, १५ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण अति प्रभावित तीन जिल्लामा कम्तीमा १९ वटा विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी–पहिरोले विद्यालय भवनमा क्षति पुर्याउनुका साथै विद्यार्थी र शिक्षकसमेत प्रभावित भएका छन्।
बीबीसी नेपाली र बीबीसी दक्षिण एसिया भिजुअल जर्नलिज्मका अनुसार रसुवा र नुवाकोटका शैक्षिक संस्थामा बाढी–पहिरोले ठूलो क्षति पुर्याएको छ। विपद्मा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता रहेको विवरण सार्वजनिक भएको छ भने कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरू समेत सम्पर्कविहीन छन्।
मन्त्रालयका अनुसार प्रभावित विद्यालयमध्ये कम्तीमा नौवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। त्यस्तै, सातवटा विद्यालयमा आंशिक क्षति पुगेको छ।
रसुवा र नुवाकोटका क्षतिग्रस्त विद्यालयमा मात्रै कुल २ हजार ४२५ विद्यार्थी अध्ययनरत थिए। बाढीको भेल र पहिरोले कतिपय विद्यालय भवन लेदोमा पुरिएका छन् भने केही संरचना बाढीले नै बगाएको जनाइएको छ।
विपद्को असर विद्यालयका भौतिक संरचनामा मात्रै सीमित छैन। विद्यार्थी तथा शिक्षकको अवस्थाबारे समेत गम्भीर चिन्ता उत्पन्न भएको छ। एउटा विद्यालयले आफ्ना विद्यार्थी सवार बस नै बाढीले बगाएको जानकारी शिक्षा मन्त्रालयलाई गराएको छ।


