काठमाडौं, २० भदौ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनास्थलमा खोजी तथा उद्धारका क्रममा ६ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार शुक्रबार दिनभर गरिएको खोजीका क्रममा ती शव फेला परेका हुन् ।
सल्लेटार क्षेत्रमा फेला परेका शवलाई नेपाली सेनाले बट्टार ल्याएको जनाइएको छ । शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले उनीहरूको पहिचान खुल्न बाँकी छ ।
बाढीपछि आयोजनाको सुरुङमा करिब ३०० जना फसेको आशंका गरिएको छ । हराइरहेकाहरूको खोजीका लागि शुक्रबार हेडवर्क्स र सुरुङ क्षेत्रमा दिनभर उद्धार टोली परिचालन गरिएको थियो ।
उद्धार कार्यमा कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोली सक्रिय छन् । विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ । आयोजनाले उद्धारका लागि १५ वटा विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्याएको जनाएको छ ।
सुरुङभित्र जमेको पानी निकाल्न शुक्रबार वाटर पम्प सञ्चालनमा राखिएको थियो । आवश्यक थप उपकरण र मेसिन प्रयोग गरी शनिबार पनि खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने तयारी गरिएको छ ।
बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७६ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ । अझै ठूलो संख्यामा कामदार तथा कर्मचारी सम्पर्कविहीन रहेकाले उद्धार टोलीले सुरुङ र हेडवर्क्स क्षेत्रमा केन्द्रित भएर खोजी गरिरहेको छ ।


