राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यू, नमस्कार।
हजुरको जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र सफल राजनीतिक यात्राको हार्दिक शुभकामना। भगवान् श्री पशुपतिनाथसँग हजुरको राजनीतिक यात्राले देश र जनताको हितमा सही दिशा पाओस् भन्ने प्रार्थना गर्दछु।
भौतिक रूपमा हजुरसँग मेरो एकपटक मात्र भेट भएको छ। त्यो पनि म तनहुँ जिल्लाको प्रहरी प्रमुख हुँदा सामान्य रूपमा हात मिलाउने अवसर मात्र थियो। त्यसपछि कुनै व्यक्तिगत सम्बन्ध, निकटता वा स्वार्थको सम्बन्ध रहेन। त्यसैले आज मैले राख्न खोजेका कुरालाई व्यक्तिगत आग्रह वा पूर्वाग्रहका रूपमा होइन, देशको वर्तमान राजनीतिक अवस्थाप्रति एउटा जिम्मेवार खबरदारीका रूपमा बुझिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु।
जेनजी आन्दोलनपछि पुराना राजनीतिक दलहरूप्रति जनताको मोह तीव्र रूपमा खस्किएको छ। दशकौँदेखि शासन गरेका दलहरू आज आफ्नै इतिहास, नेतृत्व र कार्यशैलीको भारीले थिचिएका देखिन्छन्। यही परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नेपाली जनताले ठूलो आशा र विश्वास राखेका छन्। तर सभापतिज्यू, आशा प्राप्त गर्नु र आशा जोगाउनु एउटै कुरा होइन।
जनताले रास्वपालाई पुराना दलको विकल्पका रूपमा स्वीकार गर्न थालेका छन्। तर आज प्रश्न उठ्न थालेको छ, रास्वपा आफैँ विकल्प बन्दैछ कि पुराना राजनीतिक संस्कारको नयाँ संस्करण बन्दैछ?
सरकारका अगाडि चुनौतीको चाङ छ। ग्यासको अभावमा कतिपय नागरिकका चुला बल्न सकेका छैनन्। आर्थिक अभावका कारण कतिपय परिवार भोकै सुत्न बाध्य छन्। सडकमा नै सुत्केरी हुनुपर्ने पीडादायी अवस्था सिर्जना भएको छ। प्राकृतिक विपत्तिले रसुवा र नुवाकोटमा धेरै परिवारलाई शोकमा डुबाएको छ। कोही बाढीमा बगेका छन्, कसैका शव भेटिएका छन्, कोही अझै बेपत्ता छन्। यी सबै अवस्थाबारे हजुर मभन्दा धेरै जानकार हुनुहुन्छ। मैले यी कुरा सत्तारूढ राष्ट्रिय पार्टीको सभापतिको नाताले हजुरलाई जिम्मेवारीको गम्भीरता सम्झाउन मात्र राखेको हुँ।
जनताको दैनिक जीवनसँग जोडिएका यस्ता समस्याको समाधान गर्न सक्नुभयो भने मात्र हजुरको राजनीतिक यात्रा सफल हुनेछ। सत्ता प्राप्त गर्नु उपलब्धिको अन्तिम बिन्दु होइन। सत्ता पाएपछि जनताको जीवनमा परिवर्तन ल्याउन सक्नु नै असली परीक्षा हो। जनताको आशा जित्नु कठिन हुन्छ, तर त्यो आशा टुटेपछि पुनः विश्वास प्राप्त गर्नु अझ कठिन हुन्छ।
सभापतिज्यू, अब म अझ गम्भीर विषयतर्फ आउँछु।
हजुरको पार्टीका सांसद खगेन्द्र सुनुवारसँग जोडिएका विगतका विवादास्पद प्रस्तुति र अभिव्यक्तिहरूलाई लिएर गम्भीर प्रश्न उठेका छन्। हिजो सुरक्षा निकायका प्रमुखसँग टकराव खोज्ने शैलीमा साङ्लो बेरेर प्रस्तुत हुने राजनीतिक संस्कार र आज संसद्को लोगो लगाएर प्रस्तुत हुने जिम्मेवारीबीच स्वाभाविक रूपमा ठूलो अन्तर हुनुपर्छ।
तर के त्यो अन्तर व्यवहारमा देखिएको छ?
सांसद बन्नु भनेको केवल चुनाव जित्नु होइन। सांसद बन्नु भनेको संसद्को गरिमा, संविधान, राज्यका संस्थाहरू र सार्वजनिक मर्यादाको प्रतिनिधि बन्नु हो। हिजो सडकमा देखाइएको उत्तेजना आज संसद्को कुर्सीमा पुग्दा विचारमा परिणत हुनुपर्छ, विवेकमा परिणत हुनुपर्छ र संस्कारमा परिणत हुनुपर्छ।
त्यसैले प्रश्न हजुरलाई नै हो। के रास्वपाले आफ्ना सांसदहरूलाई केवल चुनाव जित्न सिकाइरहेको छ कि जनप्रतिनिधि भएर कसरी व्यवहार गर्ने भन्ने राजनीतिक संस्कार पनि सिकाइरहेको छ? के पार्टीभित्र असहमति र आक्रोशलाई राजनीतिक ऊर्जा मानिन्छ, कि त्यसलाई अनुशासन र जिम्मेवारीमा रूपान्तरण गर्ने क्षमता पनि नेतृत्वसँग छ? सुरक्षा निकायसँग टकरावलाई राजनीतिक बहादुरी ठान्ने प्रवृत्तिलाई हजुरले प्रोत्साहन गर्ने हो कि राज्यका संस्थाहरूको मर्यादाको पक्षमा उभिने हो?
यी प्रश्न व्यक्तिगत होइनन्। यी प्रश्न रास्वपाको राजनीतिक संस्कारसँग जोडिएका प्रश्न हुन्।
रवि सर, राजनीतिमा सबैभन्दा ठूलो भ्रम आजको लोकप्रियता भोलिको जनादेश पनि हो भन्ने सोच हो। इतिहासले धेरैलाई लोकप्रिय बनायो, धेरैलाई सत्तामा पुर्यायो। तर जनताले अन्ततः भाषण होइन, परिणाम र व्यवहारको हिसाब गरे।
आज रास्वपाका लागि पनि त्यही समय आएको छ।
जनताले पुराना दललाई अस्वीकार गरेर रास्वपालाई अवसर दिएका हुन्। यसको अर्थ पुराना दलले गरेका गल्ती दोहोर्याउने छुट रास्वपालाई पनि छ भन्ने होइन। बरु उल्टो, जनताले रास्वपालाई पुरानाभन्दा राम्रो हुनुपर्ने अतिरिक्त जिम्मेवारी दिएका छन्।
यदि पार्टीभित्र व्यक्तिको उत्तेजना संस्थागत अनुशासनभन्दा बलियो हुँदै गयो, यदि सांसदको व्यक्तिगत प्रदर्शन पार्टीको राजनीतिक संस्कारभन्दा ठूलो हुँदै गयो, यदि सरकार जनताको दैनिक पीडाभन्दा राजनीतिक बचाउमा बढी व्यस्त भयो भने जनताले फेरि प्रश्न गर्नेछन्, फरक के रह्यो?
खगेन्द्र प्रवृत्ति कुनै एक व्यक्तिको मात्र प्रश्न होइन। यो राजनीतिक संस्कारको प्रश्न हो। नेतृत्वले समयमै गलत प्रवृत्तिलाई नियन्त्रण गर्न नसक्दा त्यही प्रवृत्ति विस्तारै पार्टीको संस्कार बन्न सक्छ। आज एउटा व्यक्ति होला, भोलि त्यही शैली अरूले अनुकरण गर्लान्। त्यसपछि पार्टीको पहिचान विचारबाट होइन, विवादबाट बन्न थाल्छ। त्यो दिन रास्वपाका लागि सबैभन्दा ठूलो संकट हुनेछ।
राजनीतिक दलको क्षयीकरण एकैदिन हुँदैन। पहिले भाषा बिग्रन्छ, त्यसपछि व्यवहार बिग्रन्छ, त्यसपछि संस्कार बिग्रन्छ र अन्ततः जनविश्वास बिग्रन्छ। त्यसैले सभापतिज्यू, समयमै कठोर निर्णय लिनुहोस्। लोकप्रियताको नाममा अनुशासन नछोड्नुहोस्। सांसदको पदलाई व्यक्तिगत प्रदर्शनको मञ्च बन्न नदिनुहोस्। राज्यका संस्थासँग टकरावलाई राजनीतिक उपलब्धि नबनाउनुहोस्।
रवि लामिछानेज्यू, आज हजुरसँग शक्ति छ। सरकार छ। संसद् छ। जनताको ठूलो आशा छ। तर इतिहासले हजुरलाई एक दिन यही प्रश्न सोध्नेछ, जनताले तपाईंलाई पुरानो राजनीतिक संस्कार बदल्न पठाएका थिए कि त्यसै संस्कारलाई नयाँ अनुहारमा निरन्तरता दिन?
जनताले हजुरलाई विकल्प बन्न मत दिएका हुन्। विकल्प बन्नुहोस्, प्रतिलिपि होइन।
जनताको आक्रोशलाई मतमा बदल्नु ठूलो सफलता हो। तर त्यो मतलाई विश्वासमा बदल्नु अझ ठूलो परीक्षा हो। आज हजुरको पार्टीलाई विरोधीभन्दा बढी आवश्यक छ आत्मसमीक्षा। सरकारलाई आलोचकभन्दा बढी आवश्यक छ परिणाम। सांसदलाई लोकप्रियताभन्दा बढी आवश्यक छ संस्कार। र नेतृत्वलाई समर्थकभन्दा बढी आवश्यक छ सत्य बोल्ने मान्छे।
त्यसैले जन्मदिनको शुभकामनासँगै यो कडा आग्रह पनि स्वीकार गरिदिनुहोस्। रास्वपालाई व्यक्तिको लोकप्रियताले होइन, संस्थागत संस्कारले बलियो बनाउनुहोस्। किनकि जनताको आशा जितेर सत्ता प्राप्त गर्न सकिन्छ, तर जनताको विश्वास जोगाएर मात्र इतिहासमा स्थान बनाउन सकिन्छ।
हजुरको जन्मदिन फेरि पनि शुभ रहोस्। तर जन्मदिनको शुभकामनाभन्दा ठूलो शुभकामना यही हो, हजुरले जनताले दिएको आशाको मूल्य बुझ्नुहोस्, समयमै गलत प्रवृत्तिलाई रोक्नुहोस् र रास्वपालाई साँच्चिकै वैकल्पिक राजनीतिक शक्ति बनाउनुहोस्।
लेखकः पूर्व एसपी हुन । सुरक्षा र राजनीतिमा गहिरो जानकार राख्छन् ।


