काठमाडौं, २७ भदौ । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले तेस्रो साधारण सभा सम्पन्न गरेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुलुकमा सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सामान्य तवरले साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष बाल कुमार बास्तोलाको सभापतित्वमा भएको सभाको संस्थाका सल्लाहकार प्रा.डा.भिमप्रसाद न्यौपाने र खडानन्द ढकालले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सभामा शुभकाना मन्तव्य राख्दै सल्लाहकार न्यौपानेले संस्थाले तयार पारेको वार्षिक प्रतिवेदन बैंक तथा वित्तीय संस्थाको भन्द कम नरहेको बताए । उनले यो स्तरको डकुमेन्ट आफ्ना सदस्य माझ पस्कन सक्नुमा संस्थाका अध्यक्ष बास्तोलाको ठुलो योगदान रहेको चर्चा गरे । संस्थाको वार्षिक प्रतिवेदनले कामप्रतिको राम्रो दक्षता देखाएको भन्दै उनले संस्थाका अध्यक्ष लगायत सञ्चालक समितिको खुलेर प्रशंसा गरे । प्रतिकुल परिस्थितिमा पनि संस्थाले आफ्नो कदम चालिराखेको र निरन्तर सफलता समेत मिल्दै गएको उनको भनाई छ । संस्थाको वित्तीय व्यवस्थापनमा शेयर पुँजी ,जगेडा कोष, बचत तथा ऋण लगानी गरी १० वटा पिलर रहेको र यी सबैलार्ई विश्लेषण गर्दा संस्था मजवुद रहेको सल्लाहकार न्यौपानेले जनाए । समग्र वित्तीय सुचाङ्कहरुले बलियो र दिगो संस्थाको बाटोमा महार्षित अघि बढेको उनले सभामा बताए ।

यस आर्थिक बर्षको लागि गुणस्तरीय ऋण लगानी, प्रभावकारी असुली, पारदर्शी व्यवस्थापन र संगठित सदस्यको थिमलाई लिएर अगाडी बढेकाले संस्थाको भविष्य थप उज्जवल भएको उनले जनाए । विगतमा संस्थाले सामना गरेका चुनौतीबाट पाठ सिक्दै आगामी दिनका लागि लिएका लक्ष्य प्राप्तिमा संस्थालाई सफलताको शुभकामना व्यक्त गरे । सभामा अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय सरकारले जारी गरेका कतिकय नियम कानुनका साथै निर्देशनहरुले सहकारी क्षेत्रलाई जटिलतातर्फ प्रवेश गराएको बताए । उनले सहकारी क्षेत्रमा थुप्रै चुनौती भए पनि सदस्यहरुको साथ, सहयोग र विश्वासका कारण संस्थालाई अगाडि बढाउन सकेको उल्लेख गरे । संस्थाप्रति सदस्यको आकर्षण बढेर गएको र शेयर पुँजी, बचत संकलन तथा समग्र वित्तीय सुचाङ्क समेत क्रमशः वृद्धि हुँदै गएको अध्यक्ष बास्तोलाले सभामा जानकारी दिए ।
संस्थाको स्थायित्वका लागि संस्थागत पुँजी महत्वपूर्ण हुने भन्दै उनले जगेडा कोषलाई बृद्धि गर्दै जाने नीति लिएको सभामा उल्लेख गरे । संस्थासँग ऋण लगानी गर्न सक्ने क्षमता भए पनि सदस्यहरुबाट ऋणको माग नहुँदा तरलता रकम बढेर गएको सभामा उनले जानकारी दिए । प्रतिकुल अवस्थामा पनि संस्थाले बचतमा ब्याज दिन सक्नुका साथै सदस्यहरुले बचत फिर्ता मागेको बखतमा सहज रुपमा दिन सक्नु सबल पक्ष भएको उनले सुनाए । सहकारी मार्फत् राज्यलाई करमा योगदान गर्नुका साथै सदस्यहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्न सक्नु संस्थाको उपलब्धी भएको उनले बताए । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै पारदर्शी, जिम्मेवार र सदस्य केन्द्रीत सेवा प्रदान गर्दै आएको सभामा उनले जनाए ।
अध्यक्ष बास्तोलाले मुलुकको समग्र आर्थिक अवस्था,बजारमा देखिएको मन्दी,सदस्यहरुको आयस्रोतमा परेको प्रभाव,ऋण असुलीमा देखिएको चुनौती तथा वित्तीय क्षेत्रमा आएको परिवर्तनले सहकारी क्षेत्रमा समेत प्रत्यक्ष प्रभाव पारेको जनाए । यस्तो परिस्थितिमा पनि संस्थाले सदस्यहरुको बचतको सुरक्षा,ऋण लगानीको गुणस्तर,ऋण असुली,तरलता व्यवस्थापन, संस्थागत सुशासन तथा सदस्य सेवा प्रवाहलाई प्राथमिकता राखेर अगाडि बढेको उनले सभामा जानकारी दिए । संस्थाले नमुनाको रुपमा गरेको सदस्य सन्तुष्टिको सर्वेक्षण अनुसार सन्तुष्टिको दर ९० प्रतिशत माथि रहेको र आगामी दिनमा पनि उनीहरुले दिएको सल्लाह सुझावलाई आत्मसात गर्दै सेवालाई थप प्रभावकारी बनाउने उनको भनाई छ । संस्थामा ८०३ जना आवद्ध रहेको र त्यसमध्ये ३५६ जनाले मात्र नियमति रुपमा मासिक बचत गर्ने गरेकाले सबै सदस्यलाई नियमित रुपमा मासिक बचत गर्न उनले आग्रह गरे ।
आर्थिक बर्ष २०८२ \ ८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ६ करोड ६ लाख, जगेडा तथा अन्य कोष २ करोड ८२ लाख,बचत २९ करोड ५६ लाख, ऋण लगानी २४ करोड ६३ लाख गरी कुल सम्पत्ति ३९ करोड १० लाख पुगेको छ । संस्थाले यस आर्थिक बर्षमा बचत तथा ऋण लगानीमा वृद्धि गर्ने,उत्पादनशील क्षेत्रमा गुणस्तरीय ऋण लगानी गर्ने,ऋण असुली दरमा सुधार गर्ने,सदस्य सन्तुष्टि दरमा वृद्धि गर्ने,सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने र डिजिटल कारोबारमा वृद्धि गर्ने लगायतका योजना अघि सारेको छ । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक विनोद पराजुलीले समितिको तर्फबाट प्रतिवेदन प्रस्ततु गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०२८ \ ८३ को वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०८३ \८४ को नीति तथा कार्यक्रम र वार्षिक बजेट, लेखा सुपरीवेक्षण समिति र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । सभामा सदस्यहरुले संस्थाले वित्तीय पारदर्शिता र संस्थागत सुशासन कायम गरेको भए पनि ऋण लगानी र असुलीमा भने ध्यान दिन सुझाव दिए । सभाको सञ्चालन सचिव हरिशरण सिवाकोटीले गरेका थिए ।


