काठमाडौं, ३० असोज ।
विटिआई ग्रुप अफ भेन्चर्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिलीपराज बराललाई दिएको छ। २३ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरेका ४८ वर्षीय बराल महोत्तरी जिल्लाका हुन।
ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरे ।
बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरेको अनुभव हासिल गरेका छन् । व्यवस्थापन, कानुन र राजनीतिशास्त्रको ज्ञान भएका उहाँ व्यावसायिक क्षेत्रमा स्पष्ट निर्णय र नतिजामुखी कामका लागि परिचित छन् ।

विटिआई ग्रुपअन्तर्गत विभिन्न नाममा सञ्चालित १० वटा संस्था सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम, स्वास्थ्य, शिक्षा, लागू औषध नियन्त्रण तथा सामाजिक क्षेत्रमा सक्रिय छन्। यी संस्थाले २७ वर्षदेखि सम्बन्धित क्षेत्रमा काम गर्दै आएका छन्।
बराल अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तकका लेखकसमेत हुन। नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षकका रूपमा पनि उनले काम गर्दै आएका छन्।
अध्यक्ष रायमाझीले नयाँ जिम्मेवारीसँगै ग्रुपको व्यवस्थापन, बजार विस्तार र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने चुनौती बरालसामु रहेको सो अवसरमा बताए ।


