काठमाडौं, ५ कात्तिक । नेपाल प्रिमियर लिग एनपीएल तेस्रो संस्करणको टिकट बिक्री बिहीबार बेलुकाबाट खुल्ने भएको छ ।
नेपाल क्रिकेट एसोसिएसन क्यानले विज्ञप्तिमार्फत टिकट बिक्री बिहीबार बेलुका आठ बजेबाट खुल्ने जनाएको हो ।
क्यानका अनुसार लिग चरणका खेलमा साधारण टिकटको मूल्य ५०० र प्रिमियमको मूल्य एक हजार तोकिएको छ । यस्तै, इलिमिनेटर तथा फाइनल चरणमा टिकटको मूल्य साधारणको एक हजार र प्रिमियमको दुई हजार तोकिएको छ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन् । तेस्रो संस्करणको सबै खेलले आईसीसीको टी-२० लिगको लिस्ट ए मान्यता पाएको छ । ईसेवामार्फत टिकट लिन सकिने क्यानले जनाएको छ ।


