काठमाडौं, ९ कात्तिक ।
एमालेका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी चार दिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् ।
दशैको टिकाको भोलीपल्ट अर्थात ५ कात्तिकमा भण्डारी चीन भ्रमणमा गएकी थिइन । चीनको हवेइ प्रान्तको स्योङआनमा चिनियाँ विदेश मन्त्रालयसम्बद्ध थिङ्क ट्याङक–‘चाइना पिपुल्स इन्सिच्युट अफ फरेन अफेर्अस’द्वारा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा विशिष्ट अतिथिका रुपमा सहभागी भएर सम्बोधन गरेकी थिइन । भण्डारी सोमबार स्वदेश फर्किएकी हुन् ।
२३ देखि २५ अक्टोबरसम्म आयोजित ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयक विश्व सम्मेलनमा सय देशका करिब दुई सय प्रतिनिधिहरु सहभागी थिए । सम्मेलनमा विश्वका धेरै मुलुकबाट पूर्व राष्ट्रप्रमुख र सरकार प्रमुख तथा बाहलवाला र पूर्व मन्त्रीहरुका साथै विभिन्न मुलुक तथा चीनबाट कुटनीतिक मामिलासँग सम्बन्धित विज्ञहरुसमेत मन्त्रीहरुसमेत सहभागी थिए । सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रुपमा गत शनिवार सम्बोधन गरेकी थिइन् ।
सम्मेलनमा विश्वको पछिल्ला मुद्दाहरु, जलवायु परिवर्तनलगायतका विषयमा विमर्शहरु भएका थिए । स्वदेश फर्किने क्रममा भण्डारीले विश्व फोरममा आफूले जलवायु परिवर्तनसँग सम्बद्ध मुद्दा उठाएको जानकारी दिइन् ।
सम्बोनका क्रममा भण्डारीले नेपालले उठाउँदै आएको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसँग आग्रह गरेकी थिइन् । नेपालमा पछिल्लो समय देखिएका अकल्पनीय प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असर र जोखिमलाई पुनः उजागर गरेको उल्लेख गर्दै भण्डारीले जलवायु परिवर्तनबाट प्रभावित तथा जोखिममा रहेका मुलुकका सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा उचित स्थान दिनुपर्ने धारणा पनि राखिन् ।
पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन प्रणाली र जलवायु न्याय एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएकोतर्फ विश्व समूदायको ध्यानाकर्षण गराइन् । हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग जोडिएको साझा प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले चीन, नेपाल, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्नुपर्ने बताएकी थिइन् ।

भ्रमणमा तत्कालीन राष्ट्रपति भण्डारीको सञ्चार सचिव सोम राईका साथै डा. कैलास भण्डारी र स्वस्तिका विष्ट पौडेल पनि सहभागी थिए । सोमबार स्वदेश फर्किदाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एमाले सचिव छविलाल विश्वकर्मा, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी, केन्द्रीय सदस्यहरु कर्ण थापा, बाबुराम अधिकारी, नेताहरु कृष्ण राई, नविना लामालगायतले भण्डारीलाई विमानस्थलमा स्वागत गरेका थिए ।

