काठमाडौं, ९ कात्तिक ।
पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। चारदिने चीन भ्रमणमा रहेकी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच दुई देशको आपसी हित र द्विपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको भ्रमण प्रतिनिधिमण्डलका एक सदस्यले जानकारी दिए। एमालेको वरिष्ठ नेतामा मनोनयन भएपछि उनी पहिलो पटक चीन भ्रमणमा गएकी थिइन । उनको चीन भ्रमणलाई राजनीतिक तथा कुटनीतिक वृत्तमा महत्वको साथ हेरिएको छ । नेपालको वाम राजनीतिक क्षेत्रमा झन चासो राखिएको छ ।
ती सदस्यका अनुसार भेटवार्तामा नेपाल–चीन सम्बन्ध र आपसी हितका विषयमा लामो छलफल भएको थियो । साथै नेपालको राजनीतिक परिस्थिति र पछिल्लो अवस्थाबारे पनि छलफल भएको स्रोतको दावी छ । । भेटवार्तामा उठेका विषय, छलफलको विस्तृत विवरण तथा त्यसबाट निस्किएका निष्कर्षबारे भने प्रतिनिधिमण्डलका सदस्यले थप खुलाएका छैनन्।
राष्ट्रपति पदबाट अवकाश पाएपछि सक्रिय दलीय राजनीतिमा फर्किएकी भण्डारीको चीन भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको र एमालेका नेताहरुमा समेत छलफलको विषय बनिरहेको बेला एमालेको वरिष्ठ नेताको वाङयीसँग भेटवार्ताले अझ चासो बढाएको छ । उनको यो भ्रमणलाई नेपाल–चीन सम्बन्धसँगै एमालेभित्रको बदलिँदो राजनीतिक समीकरणको सन्दर्भमा समेत अर्थपूर्ण रूपमा हेरिएको बेला वामराजनीतिमा मात्र होइन अन्य दलहरुले पनि कुटनीतिक र राजनीतक ढंगले चासोका साथ हेरिरहेका छन् ।
५ कात्तिकमा भण्डारी चीन भ्रमणमा गएकी थिइन । चीनको हवेइ प्रान्तको स्योङआनमा चिनियाँ विदेश मन्त्रालयसम्बद्ध थिङ्क ट्याङक–‘चाइना पिपुल्स इन्सिच्युट अफ फरेन अफेर्अस’द्वारा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा विशिष्ट अतिथिका रुपमा सहभागी भएर सम्बोधन गरेकी थिइन । भण्डारी सोमबार स्वदेश फर्किएकी हुन् ।
२३ देखि २५ अक्टोबरसम्म आयोजित ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयक विश्व सम्मेलनमा सय देशका करिब दुई सय प्रतिनिधिहरु सहभागी थिए । सम्मेलनमा विश्वका धेरै मुलुकबाट पूर्व राष्ट्रप्रमुख र सरकार प्रमुख तथा बाहलवाला र पूर्व मन्त्रीहरुका साथै विभिन्न मुलुक तथा चीनबाट कुटनीतिक मामिलासँग सम्बन्धित विज्ञहरुसमेत मन्त्रीहरुसमेत सहभागी थिए । सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रुपमा गत शनिवार सम्बोधन गरेकी थिइन् ।


