पोखरा, १२ कात्तिक ।
वैदेशिक रोजगारीबाट फर्किएका तथा नेपालमा कृषि विषय अध्ययन गरेका युवाको सीप, अनुभव, पुँजी र श्रमलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने उद्देश्यले कृषि उद्यमशीलताको पहल अघि बढाइएको छ। पोखरा तथा आसपासका क्षेत्रमा व्यावसायिक कृषि उत्पादनको सम्भाव्यता अध्ययन, जमिन व्यवस्थापन र खेती विस्तारमा केन्द्रित रहेर यो अभियान अघि बढाइएको हो।
कृषि व्यवसाय सञ्चालनको सम्भावना पहिचान गर्न भूर्जुङ्खोला, खैमेराङलगायत क्षेत्रका विभिन्न जमिन तथा फार्मको अवलोकन गरिएको थियो। सो क्रममा करिब ७०० रोपनी जमिन लिजमा लिएर व्यावसायिक खेती गर्न सकिने सम्भावना अध्ययन गर्नुका साथै स्थानीय कृषि उत्पादन र कृषि आधारित व्यवसायको अवस्थाबारे जानकारी लिइएको थियो।

अध्ययनका क्रममा स्थानीय कृषकसँग च्याउ खेतीको उत्पादन, लगानी, नाफा नोक्सान र बजार व्यवस्थापनबारे छलफल गरिएको थियो। साथै, माछापालन तथा गाईपालन फार्मको अवलोकन गरी कृषि ज्ञान केन्द्रबाट उपलब्ध सरकारी अनुदान र कृषि कार्यक्रमबारे जानकारी लिइएको थियो।
प्रारम्भिक अध्ययनपछि खेतीयोग्य जमिनको सदुपयोग तथा उत्पादन विस्तारका लागि फार्म व्यवस्थापनका काम अघि बढाइएको छ। झाडी सफा गर्ने, अनावश्यक रूखबिरुवा हटाउने, जमिन तयार पार्ने, तारबार लगाउने र फार्मसम्म पुग्ने बाटो निर्माण गर्ने कामलाई प्राथमिकता दिइएको छ।

फार्ममा काउली, बन्दा र ब्रोकाउलीका बेर्ना रोप्नुका साथै आलु, लसुन र मुला खेती गरिएको छ। पोखरास्थित कृषि ज्ञान केन्द्रबाट ल्याइएको करिब पाँच टन आलु रोप्नका लागि ड्याङ तयार गरी खेती विस्तार गरिएको छ। रोपिएका बालीको संरक्षण तथा थप खेतीका लागि आवश्यक व्यवस्थापनका कामसमेत भइरहेको छ।
फार्ममा रहेको अलैँची खेती लामो समयदेखि उचित हेरचाहको अभावमा कमजोर अवस्थामा रहेको पाइएको छ। झारपातले बोटहरू छोपिनु तथा नियमित स्याहार नहुनुले उत्पादनमा असर परेको प्रारम्भिक अवलोकनले देखाएको छ। हालसम्म अलैँची टिप्ने, दाना छुट्याउने र सुकाउने कामबाट केही किलो अलैँची भएको छ। बाँकी अलैँची संकलन गर्नुका साथै झारपात हटाउने, आवश्यक मलखाद तथा पोषणको व्यवस्था गर्ने र नियमित हेरचाहमार्फत उत्पादन सुधार गर्ने योजना बनाइएको छ।

फार्ममा खेती विस्तार र पूर्वाधार निर्माणका काममा स्थानीय श्रमिक परिचालन गरिएको छ। कृषि कार्यका लागि पर्याप्त जनशक्ति व्यवस्थापन गर्न तराईबाट थप कामदारसमेत बोलाइएको छ। यसले कृषि उत्पादनसँगै स्थानीय तथा अन्य क्षेत्रका श्रमिकका लागि रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना बढाएको छ।
कृषि विषयमा बीएस्सी एग्रिकल्चर अध्ययन गरेका युवाको ज्ञान र वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको अनुभव तथा पुँजीलाई एकीकृत गर्न सके व्यावसायिक कृषि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसका लागि उत्पादन लागतको अभिलेख, आधुनिक कृषि प्रविधि, सिँचाइ, बाली संरक्षण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउनु आवश्यक छ।
कृषि उद्यमलाई योजनाबद्ध रूपमा विस्तार गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र कृषि उपजको आयात प्रतिस्थापनमा योगदान पु¥याउने लक्ष्यका साथ रिटर्नीहरूको यो पहल अघि बढाइएको छ। रिटर्नी एशोसिएसनका संयोजक प्रवीण पौडेलले लामो समयदेखि उचित व्यवस्थापन हुन नसकेका कृषि क्षेत्रलाई पुनः उत्पादनमा फर्काउने र उपलब्ध स्रोतसाधनको सदुपयोग गर्ने प्रयास यस अभियानको महत्त्वपूर्ण पक्ष रहेको बताएका छन्।



