काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुँदैछ। दोस्रो दिनको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रममा सबैभन्दा पहिले उपाध्यक्ष थापा र त्यसपछि वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्नेछन्। त्यसपछि पार्टी अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
राष्ट्रिय भेलाको दोस्रो दिन समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि भेलाको समापन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
यसैबीच, आजै दिउँसो ३ बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ।


