काठमाडौं, ५ मंसिर । सशस्त्र प्रहरी बल नेपालमा अतिरिक्त महानिरीक्षक (एआईजी) को एक रिक्त पदमा बढुवाका लागि तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ।
एआईजी वंशीराज दाहाल बर्खास्तीमा परेपछि रिक्त भएको पदमा डीआईजीहरू सुरेश कुमार श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा दाबेदारका रूपमा देखिएका छन्। तीनै जना एउटै ब्याचका अधिकारी हुन्। वरिष्ठता क्रममा श्रेष्ठ पहिलो, शाह दोस्रो र थापा तेस्रो स्थानमा छन्। वरिष्ठता, कार्यसम्पादन र विवादित छविका कारण बढुवा प्रक्रिया चासोपूर्ण बनेको छ।
वरिष्ठताका आधारमा श्रेष्ठ बढुवाका स्वाभाविक दाबेदार देखिए पनि पछिल्लो समय उनको छवि विवादमा तानिएकाले बढुवा प्रक्रिया सहज हुने देखिँदैन। वरिष्ठता मात्रै निर्णायक हुन्छ कि विवादित पृष्ठभूमि र कार्यसम्पादनलाई पनि सरकारले महत्त्व दिन्छ भन्ने प्रश्नले सशस्त्र प्रहरीभित्र चासो बढाएको छ।
श्रेष्ठ हाल सीमा सुरक्षा विभागमा कार्यरत छन्। शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो प्रमुख छन् भने थापा सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन्। यसअघि यही ब्याचका अञ्जनीकुमार पोखरेल एआईजीमा बढुवा भइसकेका छन्। अब रिक्त एक पदमा कसले बाजी मार्छ भन्ने प्रतिस्पर्धा थप पेचिलो बनेको छ। श्रेष्ठ सिनियर हुन भने थापा आइजीपीका प्रिय पात्र हुन् । शाह पनि कमजोर पात्र होइनन । उनका लागि सुदुरपश्चिमका नेताहरुले साथ दिइरहेका छन् ।
यसअघि संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले एआईजी वंशीराज दाहाललाई असोज २५ गते सेवाबाट बर्खास्त गरेको थियो। उनकै बर्खास्तीसँगै एआईजीको एक पद रिक्त भएको हो।
सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि अब औपचारिक सूचना प्रकाशन गर्नुपर्नेछ। सूचनापछि बढुवाका लागि योग्य डीआईजीहरूले आवेदन दिनेछन्। प्राप्त आवेदनका आधारमा बढुवा समितिले उम्मेदवारहरूको मूल्यांकन गरी बढुवाका लागि सिफारिस गर्नेछ।

बढुवा समितिको सिफारिसपछि हुने निर्णयप्रति चित्त नबुझेमा सशस्त्र प्रहरी नियमावलीअनुसार सात दिनभित्र उजुरी दिन सकिने व्यवस्था छ। त्यसैले यसपटकको बढुवा केवल वरिष्ठताको प्रतिस्पर्धामा सीमित नभई सरकारको निर्णय र बढुवा समितिको मूल्यांकनसमेत परीक्षण गर्ने विषय बनेको छ।

