काठमाडौं, ७ मंसिर ।
भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री बालेनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आफू बुद्धको जन्मभूमिबाट आउँदा गन्धीको विरासतमा अमरज्योती देखेको भन्दै गहिरो लिखित श्रद्धाञ्जली सन्देश दिएका छन् । गान्धीको जीवन, आदर्श र अतुलनीय योगदानप्रति उनले सन्देशमार्फत उच्च सम्मान प्रकट गरे ।

उनले सत्य, शान्ति र अहिंसाका शाश्वत मूल्यप्रतिको दृढ प्रतिबद्धतासमेत व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तो छ, प्रधानमन्त्रीको लिखित श्रद्धाञ्जली सन्देशः
यस पवित्र स्थलमा, म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु, जसको जीवनले संसारलाई सत्यमा कुनै पनि शक्तिले भेटाउन नसक्ने अपार सामथ्र्य हुन्छ भन्ने प्रमाणित गरिदियो ।

नेपाली जनता र नेपाल सरकारको तर्फबाट म मेरो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भगवान् बुद्धको जन्मभूमिबाट आउँदै गर्दा, म गान्धीजीको विरासतमा त्यही अमर ज्योति देख्दछुः करुणा नै परम शक्ति हो र सच्चा नेतृत्व हामीमध्येका सबैभन्दा निमुखाहरूको निःस्वार्थ सेवामा निहित हुन्छ भन्ने गहन सत्य ।
नेपाल र भारत साझा भूगोलले मात्र होइन, आस्था, आत्मीयता र चिरस्थायी मित्रताको शाश्वत सम्पदाद्वारा बाँधिएका छन्। गान्धीजीको कालजयी भावनाको सम्मान गर्दै, म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो चिरस्थायी सम्बन्धलाई प्रगाढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः दोहोरयाउँछु ।
गान्धीजीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सामञ्जस्यपूर्ण विश्वतर्फको हाम्रो साझा मार्गलाई निरन्तर आलोकित गरिरहून् ।
बालेन्द्र शाह
प्रधानमन्त्री, नेपाल
२३ नोभेम्बर २०२६


