काठमाडौँ, ६ असोज
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ।
आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।
उनले जेन-जी आन्दोलनको बलिदानको सम्मान गर्दै सूचना तथा सञ्चार क्षेत्रमा पहुँच विस्तार गर्ने बताए । मन्त्री खरेलले आफ्नो पदभार ग्रहण गरेसँगै एआई कृत्रिम बौद्धिकता नीति पास गराएर त्यसको कार्यान्वयनलाई अगाडि बढाउने बताए ।
