ललितपुर, असोज २३
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्दैछ। सो बैठकमा सभापति शेरबहादुर देउवाले पहिलो पटक बोल्ने अपेक्षा गरिएको थियो तर, पार्टी सभापति शेरबहादुर देउवा भने आज पनि बैठकमा सहभागी नहुने भएका छन्।
पार्टी नेतृत्वको महत्वपूर्ण बैठकमा लगातार अनुपस्थित भइरहेका देउवाको साटो आजको बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो। यस्तैमा, पछिल्लो समय देउवा ‘मौन’ बसेका बेला खड्काले भने सक्रियता बढाउँदै आएका छन्।
गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि देउवा सार्वजनिक रूपमा देखिएका छैनन्। सो दिन आन्दोलनको दोश्रो चरणमा देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै हातपात भएको थियो। त्यसयता उनी कुनै पनि पार्टी बैठकमा प्रत्यक्ष सहभागी भएका छैनन्।
यद्यपि, पार्टीका केही नेताहरूसँग उनले भर्चुअल संवाद भने गरेको स्रोतहरू बताउँछन्। तर, संस्थागत निर्णय हुने बैठकहरूमा निरन्तर अनुपस्थित रहँदै आएका देउवाको यो शैलीप्रति पार्टीभित्रै असन्तोष बढ्न थालेको छ।
नेता खड्काले भने पछिल्लो समय नीति, संगठन र आन्दोलनबारे खुलेर धारणा राख्न थालेका छन्। देउवाले नबोल्ने क्रम जारी रहे पनि खड्काले पार्टीको वैचारिक तथा सांगठानिक दिशाबारे सक्रियता देखाइरहेका छन्।
पार्टीभित्र बढ्दो नेतृत्व शून्यता र देउवाको मौनताबीच आजको बैठकले के सन्देश दिन्छ भन्नेमा कांग्रेसका नेता कार्यकर्ताको चासो छ।
