काठमाडौं, असोज २६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशन गराएर आफै नेतृत्व सम्हाल्ने संकेत गरेका छन् । आइतबार सम्पन्न सचिवालय बैठकलाई लामो सम्बोधन गरेका ओलीले यस्तो संकेत गरेका हुन् । सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आज सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको बताए।
विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो।
बैठकले बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको उनले जानकारी दिए। यस्तै, सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए।
आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए। यसअघि शुक्रबार सचिवालयका अन्य सदस्यले धारणा राखेका थिए।
साथै बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्षसहित पुनस्र्थापना हुनुपर्ने माग अघि सारेको हो। ‘हामी अदालत न्याय माग्न जान्छौं’ एक पदाधिकारीले भने, ‘यो प्रतिनिधि सभा विघटन असंवैधानिक हो, यसलाई सच्याउन र जननिर्वाचित संस्थालाई ब्युँताउन अदालत जान्छौँ।’ यस्तै, एमालेले केन्द्रीय कमिटी बैठक लगत्तैदेखि सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध सडक आन्दोलन थाल्ने पनि जनाएको छ।
बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि जनपरिचालनका कार्यक्रम गर्ने जानकारी दिए।
आगामी २९ देखि ३१ गतेसम्म केन्द्रिय कमिटी बैठक तय भएको छ। त्यस लगत्तै आन्दोलन गर्ने सचिवालय बैठकले निर्णय गरेको हो। ‘अब आन्दोलन गर्ने भन्ने हो। केन्द्रीय कमिटी लगत्तै सडक आन्दोलन सुरु हुन्छ। आन्दोलनको मोडालिटी तय भइसकेको छैन’ उनले भने। एमालेले संयुक्त आन्दोलनको लागि लोकतन्त्र पक्षधर दलसँग संवाद गर्ने पनि निर्णय गरेको छ।
