काठमाडौं, असोज २६
एमालेको सचिवालय बैठकमा आइतबार ठूलै रस्साकस्सी परेको छ । विद्या भण्डारीको सदस्यता नविकरणदेखि आफूलाई पार्टीबाट गलहत्याउन लागेको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो सम्बोधन गरेका थिए । उनले बैठकमा उठेका प्रश्नहरुबारे लामो प्रवचन दिएर आफूलाई पार्टीबाटै गलहत्याउने खोज्ने भन्दै महािधवेशनमा त्यसको हिसाब मागिने बताएर धम्क्याएका थिए ।
बैठकमा देश सञ्चालन गर्ने कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई त्यति ठुलो घटनाबारे किन पूर्वसूचनाहरू भएनन्, स्वाभाविक प्रश्नहरू उठेको भन्दै अध्यक्ष ओलीको आलोचना गरेका थिए । के–कस्ता कमजोरी भए, सुरक्षा अंगहरू किन प्रभावकारी परिचालन भएनन्, गहिराइमै पुगेर समीक्षा गर्नुपर्ने पदाधिकारीहरुको धारणा थियो । प्रधानमन्त्रीले, पार्टीले वा अरू क–कसका कमजोरी छन् भने पनि स्वीकार गर्नुपर्छ र जनतासँग क्षमायाचना गरेरै अघि बढ्नुपर्ने आवाज मुखर भएर आएको थियो । ‘घटनाका आन्तरिक र बाह्य दुवै कारण होलान् ।
तर, आन्तरिक कमजोरी केही पनि नदेख्ने, एकोहोरो बाह्य हस्तक्षेप र षड्यन्त्र मात्रै भयो भन्ने कुरा यथार्थपरक हुँदैन र सबैले पत्याउँदैन । त्यसैले नयाँ परिवेशमा पार्टीलाई नयाँ ढंगले पुनर्गठनको दिशामा अगाडि बढाउन कमजोरी स्विकारेर अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने सुझाव आएको थियो तर ओलीले यसलाई आफूलाई गलहत्याउ खोजेको भन्नेमा बुझे,’ एक पदाधिकारीले बैठकपछि भने ।
ती पदाधिकारीले अध्यक्ष ओलीले सम्मानजनक रूपमा पदत्याग गरेर पार्टीलाई पुनर्गठनको दिशामा लैजानुपर्ने धारणा बैठकमा उठेको बताए । ‘कसैले कुन भाषा त कसैले कुन भाषा प्रयोग गर्नुभयो । कसैले महाधिवेशनबाट त कसैले तत्कालै राजीनामा गर्दा उपयुक्त हुने सुझाव पनि राख्नुभो ।
तर, बहुसंख्यकको साझा धारणा अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ भन्ने नै छ,’ उनले भने, ‘गहिरो समीक्षा, आत्मसमीक्षा र कमजोरीप्रति क्षमायाचना गरेर नयाँ ढंगले पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ । खासगरी पार्टीको नेतृत्व फेरिनुपर्छ । वैचारिक–राजनीतिक, कार्यशैलीगत र संगठनात्मक रूपमा पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने धारणा आएको छ ।’
उपाध्यक्ष गुरु बराल र महासचिव पोखरेलले भने संकटका वेला नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना गर्ने प्रवृत्तिले पार्टीलाई झन् कमजोर बनाउने भन्दै पुनर्गठनको मुद्दाको प्रतिवाद गरेका थिए । उनीहरूले पार्टी महाधिवेशनमै कार्यकर्ताले सार्वभौम अधिकार प्रयोग गरेर पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्न सक्ने विषयलाई एमालेविरोधी शक्तिहरूलाई झन् मलजल गर्ने गरी धारणा राख्नु गलत भएको बताएका थिए ।
