काठमाडौं असोज २६
ओमानमा जारी आइसीसी टी–२० विश्वकप एसिया छनोटको सुपर–सिक्स चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित हात पारेको छ। लिग चरणका दुवै खेल जितेको नेपालले सुपर–सिक्समा पनि विजयी सुरुवात गर्न सफल भएको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। जवाफमा १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।
युएईका लागि अलिसान सराफुले ५८ रन र ध्रुव परासरले ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा खेल निकै तनावपूर्ण बनेको थियो, तर नेपालले उत्कृष्ट फिल्डिङ र सटीक बलिङको सहारामा जित सुरक्षित ग¥यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी सर्वाधिक प्रभावशाली बने, उनले ३ विकेट लिए। त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र गुल्शन झाले समान एक–एक विकेट लिएका थिए। युएईका तीन ब्याट्सम्यान रन आउट भएका थिए।
ब्याटिङतर्फ नेपालका आसिफ शेखले सर्वाधिक ५१ रन बनाए भने कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुल्शन झाले १४ र कुशल मल्लले १० रनको योगदान दिए। भुर्तेल र शेखले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रम ढल्किएपछि नेपाल मध्यम योगफलमै सीमित रह्यो।
युएईका बलरमध्ये जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौशिक र ध्रुव परासरले समान एक–एक विकेट लिए।
यो जितसँगै नेपाल सुपर–सिक्स अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। नेपालको ४ अंक भएको छ भने युएई २ अंकसहित तेस्रो स्थानमा छ।
नेपाल अब आफ्नो अर्को खेलमा ओमानसँग भिड्ने तयारीमा छ, जहाँ जितले नेपाललाई विश्वकपको ढोका नजिक पु¥याउनेछ।
