काठमाडौं, कात्तिक ७
नेकपा एकीकृत समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने भएपछि विभाजनको संघारमा पुगेका हो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले माओवादीतिर नजाने बताएपछि बहुसंख्यक कार्यकर्ता नेकपा एकीकृत समाजवादी पुर्नगठन गर्ने निष्कर्षमा पुगेका छन् । खनालले समाजवादी पार्टी नै पुर्नगठन हुन्छ भनिसकेका छन् ।
उता एकीकृत समाजवादीका नेता बेदुराम भुसालका अनुसार अहिले दस्तावेज आदान–प्रदान गर्ने र धेरै विषयमा सैद्दान्तिक सहमित जुटिसकेको बताए । ‘छलफल चलिरहेको छ, दस्तावेज आदान–प्रदान कुरा भइरहेको छ,’ एकीकृत समाजवादीको वार्ता कार्यदलका संयोजक रहेका भुसालले भने । राष्ट्रिय सम्मेलन गरेर दल दर्ताको समयअघि नै पार्टी एकता घोषणा हुने छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावका लागि मंसिर १० गतेसम्मको समय तोकेको छ ।
पार्टी एकिकरणको प्रकृया गएपछि खनाल पक्षका नेताहरु यतिबेला गम्भीर छलफलमा जुटेका छन् । महासचिव घनश्याम भूसालको नेतृत्वमा छलफलमा जुटेका हुन् । उनीहरुले पार्टीलाई पुर्नगठन गरेर लैजाने बताएका छन् । उनीहरुले माधव नेपालले आन्दोलनलाई धोका दिएको बताएका छन् ।
पार्टीको नाम परिवर्तन हुने
उता बेदराम भुसालका अनुसार एकतापछि बन्ने पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेलिनवाद रहने छ । त्यस्तै पार्टीको लक्ष्य वैज्ञानिक समाजवाद बनाउने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहने छ । पार्टीको नाम नेकपा समाजवादी हुने सम्भवना रहेको छ । निर्वाचन आयोगमा पहिले नै नेकपा समाजवादी दर्ता भएकाले त्योसँग एकता गरेर उक्त नाम राखिने भएको छ। ‘पार्टीको नाम नेकपा राख्ने ब्राकेटमा माओवादी वा समाजवादी नराख्ने,’ भुसालले भने, ‘सम्भवत समाजवादी मात्रै हुन्छ होला।’
चुनाव चिह्न अलमलमा
एकतापछि चुनाव चिन्ह कलम राख्ने सहमति भएपनि त्यसलाई बाहिर ल्याइएको छैन । हसिया हथौडा भन्दा जनतामा कलम चिन्ह बढी सहज हुने उनीहरुको बुझाई रहेको छ ।
बहुपदाधिकारी नरहने
राष्ट्रिय सम्मेलनपछि एकताको घोषणा हुने पार्टीमा बहु पदाधिकारी नहरने भएका छन्। नेकपा कालमा बहुपदाधिकारी बनाउँदा समस्या भएको भन्दै अब कमसेकम एकता महाधिवेशन नहुँदासम्म त्यो कामय रहने छ। ‘पहिला जस्तो बहुपद नराखौँ भन्ने छ, बहुपद बनाएर व्यवस्थापन गर्न नै सकिदैन,’ भुसालले भने, ‘अब अध्यक्ष, सहअध्यक्ष वा संयोजक, सहसंयोजक मात्रै हुन्छ।’
एकता महाधिवेशन पनि अलमलमा
एकता महाविधेशन कहिले गर्ने भन्ने विषय भने टुंगिन बाँकी रहेको रहेको छ। ‘एकता महाधिवेशनसम्मका लागि हो,’ भूसालले भने ‘एकता महाधिवेशन कहिले गर्ने भन्ने टुंगिएको छैन। किनभने चुनावतिर जानुपर्ने हुन्छ। राष्ट्रिय सम्मेनलबाट एकता घोषणा गर्ने।’
