रुपन्देही, कात्तिक १०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रास्वपालाई देशको मूलधारको पहिलो राजनीतिक शक्ति बनाउन जेन–जी आन्दोलनका अगुवा, कुलमान घिसिङ लगायतका नयाँ शक्ति र समूहसँग निरन्तर संवाद र छलफल भइरहेको बताएका छन् । उनका अनुसार यी वार्ताहरू सकारात्मक दिशातर्फ अघि बढिरहेका छन्
आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले हालसम्म कुनै अन्तिम सहमति ननिस्किएको बताउँदै, यस सम्बन्धमा सञ्चारमाध्यममा आएका समाचारहरू सत्यतामा आधारित नभएको दाबी गरे ।
उनले मुलुकलाई स्थिर निकास दिने एकमात्र बाटो निर्वाचन भएको उल्लेख गर्दै सरकारले तोकेको मितिमै चुनाव सम्पन्न गर्नुपर्ने बताए । ‘अब निर्वाचनको विकल्प छैन। रास्वपा चुनावमा पूर्ण रूपमा केन्द्रित भइसकेको छ। कात्तिक १५ गतेबाट निर्वाचनमुखी कार्यक्रम घोषणा हुँदैछ,’ उनले भने । अर्यालका अनुसार पार्टीको बाचा पत्र तयार गर्ने जिम्मा उपसभापति स्वर्णिम वाग्लेले लिएका छन् ।
अन्तरिम सरकारको मुख्य दायित्व निर्वाचन गराउनु रहेको उल्लेख गर्दै उनले भने, ‘यदि चुनाव हुन सकेन भने राज्य नै असफल हुने जोखिम सबैले बुझ्नुपर्छ।’
निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र वितरणमा सहयोग पु¥याउन रास्वपाले ७७ वटै जिल्लास्थित आफ्ना संरचनालाई कात्तिक २५ सम्म सक्रिय रहन निर्देशन दिएको पनि उनले जानकारी दिए ।
भदौ २३ को घटनाका दोषीलाई कानुन अनुसार कारबाही गर्नुपर्ने माग गर्दै अर्यालले सो दिन सरकारले जेन–जी आन्दोलनमाथि दमन र हत्या गरेको र भदौ २४ को घटना प्रतिक्रियास्वरूप भएको दाबी गरे । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग पर्याप्त नभएको भन्दै त्यसलाई थप बलियो र विस्तारित बनाउन सुझाव दिए ।
पार्टी महाधिवेशनबारे प्रश्नमा अर्यालले अहिले त्यस विषयमा प्रवेश गर्ने समय नआएको भन्दै महाधिवेशन तत्कालका एजेन्डामा नरहेको स्पष्ट पारे।
