काठमाडौं, कात्तिक १९
नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले पार्टी एकतासम्बन्धी नौवटा प्रस्ताव पारित गरेको छ। बुधबार भृकुटीमण्डपमा सम्पन्न संयुक्त राष्ट्रिय सम्मेलनमा नेता वर्षमान पुनले ती प्रस्तावहरू पढेर प्रस्तुत गरेका हुन्।
सम्मेलनले पार्टीको घोषणापत्र र अन्तरिम विधान २०८२ समेत सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
पारित ९ प्रस्तावहरू यस प्रकार छन्ः
१। एकता प्रक्रियामा सहभागी दल र नेताहरूको सम्मिलनबाट नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ।
२। पार्टीको निर्वाचन चिन्ह पाँच कुने तारा रहने निर्णय गरिएको छ।
३। एकतामा सहभागी सबै दलका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य हुनेछन्।
४। पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिन र संगठनात्मक समायोजनको काम अघि बढाउने निर्णय गरिएको छ। यसका लागि सबै घटकका केन्द्रीय समितिहरू समायोजन गरी नयाँ केन्द्रीय समिति निर्माण गरिनेछ।
५। केन्द्रीय समितिलाई पूर्णता दिने अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि उनीहरूलाई प्रदान गरिनेछ।
६। विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र नेपाल समाजवादी पार्टीको चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।
७। एकतामा सहभागी सबै दलका चल–अचल सम्पत्ति र दायित्वहरू अब नयाँ पार्टी — नेपाली कम्युनिस्ट पार्टी — को स्वामित्वमा रहनेछन्।
८। अन्तरिम विधान र घोषणापत्रमा प्राप्त सुझावहरू समेटी सर्वसम्मत रूपमा पारित गरिएको छ।
९। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान औपचारिक रूपमा अनुमोदन गरिएको छ।
यससँगै नवगठित पार्टीले औपचारिक रूपमा आफ्नो संगठनात्मक संरचना, नीति तथा चिन्ह स्पष्ट गरेको छ।
