काठमाडौं,कात्तिक २१
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले हालैका राजनीतिक आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबारे कडा प्रतिक्रिया दिएका छन्। उनले निजी सम्पत्तिमा आक्रमण र विध्वंसकारी गतिविधिलाई ‘आतंकवादको अभ्यास’ भन्दै त्यस्ता कार्यले देशलाई गम्भीर संकटतर्फ धकेल्ने चेतावनी दिएका छन्।
आईजीपी खापुङका अनुसार, “राजनीतिक आन्दोलनका नाममा नागरिकको घर, पसल र सम्पत्तिमा प्रहार हुनु आतंकवादको नमूना हो। जब कुनै देशमा मानिसको घर सुरक्षित रहँदैन, त्यहीँबाट आतंकवादको सुरुआत हुन्छ,” उनले भने।
उनले सामाजिक सञ्जालमार्फत दिमागमा “विध्वंसको बारुद” भर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै, “यदि हामी संयमित भएनौं भने देश ठूलो दुर्घटनातर्फ जान सक्छ,” भनेर चेतावनी दिएका छन्।
भदौ २३ र २४ का घटनालाई स्मरण गर्दै खापुङले प्रहरीमाथि ‘दोहोरो मार’ लगाउने प्रयास भएको बताए। “गोली चलाउँदा पनि प्रहरीमाथि प्रश्न, नचलाउँदा पनि प्रहरीमाथि आरोप। यस्तो दोहोरो व्यवहारले कानूनको कार्यान्वयन कमजोर बनाउँछ,” उनले भने।
उनले थपे, “प्रहरी संगठनलाई दोषारोपण गर्नु अघि नीतिगत स्पष्टता आवश्यक छ। संसद भवन, सिंहदरबारजस्ता भाइटल सरकारी संरचना जोगाउन विशेष फोर्सलाई गोली चलाउने अधिकार छ। यदि प्रहरीलाई विध्वंस रोक्न बल प्रयोग गर्न नै नदिने हो भने प्रहरी संरचना राख्ने कुनै औचित्य रहँदैन।”
खापुङले भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली वा गृहमन्त्री रमेश लेखकले नदिएको स्पष्ट पारे। उनले भने, “कानूनले नै त्यस्तो अवस्थाको जिम्मेवारी प्रहरीलाई दिएको हुन्छ। त्यस दिन २ हजार गोली चले पनि मानवीय क्षति न्यून रह्यो।”
उनका अनुसार, संसद भवनमा तोडफोड गर्दै आगजनी सुरु भएपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको थियो। “कहिले बल प्रयोग गर्दा पनि छानबिन, नगर्दा पनि छानबिन। यस्तो परिस्थितिमा प्रहरीलाई निर्णय लिन कठिन हुन्छ,” उनले भने।
आईजीपी खापुङले प्रहरीमाथिको प्रश्नोत्तरप्रति पनि असन्तुष्टि जनाउँदै भने, “भोकभोकै लडेको सिपाहीलाई बयानमा बोलाउने कुरा न्यायसंगत होइन। मेरो प्रहरीले पानी नपिएर, खाना नखाई पनि देशका लागि काम गरिरहेको छ। जब उनीहरू छानबिनमा धाइरहेका हुन्छन्, त्यतिबेला तिनीहरूको आवाज कसले बोल्ने? आईजीपीले बोल्नुपर्छ।”
