काठमाडौ, मङ्सिर ३
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बारामा आयोजित पार्टीको युवा भेलामा भएको आक्रमणप्रति कडा आपत्ति जनाउँदै सरकारले निर्वाचन तयारीको नाममा राजनीतिक वातावरणलाई प्रतिकूल बनाइरहेको आरोप लगाएका छन्।
बुधबार च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा उनले सरकार निर्वाचनबारे निरन्तर बैठक बोलाइरहे पनि जनप्रतिनिधि तथा राजनीतिक दलले आफ्ना कार्यक्रम सञ्चालन गर्न पाउने अधिकारमै हस्तक्षेप भइरहेको दाबी गरे।
“सरकार निर्वाचन-निर्वाचन गर्छ। तर बारामा हाम्रो युवा भेला भइरहेका बेला केही समूह आएर ढुंगामुढा गरे, सभा बिथोले, उनले भने ” यस्तो परिस्थिति सिर्जना गर्नेहरूलाई के भन्ने?”
उनका अनुसार बाराको सिमरामा आयोजित भेलामा जेनजी समूहका नाममा भएको अवरोधपछि एयरपोर्ट नै बन्द गरिनु र एमाले नेताहरूलाई जान नदिनु लोकतान्त्रिक अभ्यासमाथिको प्रत्यक्ष हमला हो। “५०–६० जना मान्छे आएर ढुंगामुढा गर्दै एयरपोर्ट बन्द गराइदिनु सामान्य कुरा होइन। सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन,” ओलीले टिप्पणी गरेका छन्।
