काठमाडौं, २३ असोज ।
नेकपा एमालेको स्थायी समिति बैठकमा एउटै मुद्दामा डेढ घण्टा गलफत्ति चलेको छ । स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्य मनोनयनका सवालमा अध्यक्ष केपी शर्मा ओलीले मापदण्डलाई ‘इग्नोर’ गर्दा पार्टी कमजोर बन्ने खतरा औंल्याउँदै नेताहरुबीच शुक्रवारको बैठकमा लामै छलफल चलेको हो ।
महाधिवेशनमा पराजित व्यक्ति विष्णु रिमाललाई पदाधिकारी सो सरहको पदमा मनोनयन गरेकोदेखि पार्टीमा कुनै लामो योगदान नभएका व्यक्तिहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको विषय सम्झिदै नेताहरुले मापदण्ड आवश्यक छ भन्दै विभिन्न प्रश्नहरु उठाएको एक पदाधिकारीले बताए । जसले गर्दा मापदण्डको विषय चर्कै स्वरमा मुखरित भएको छ । एजेण्डा केन्द्रीत नहुँदा स्थायी समिति बैठक लम्बिदैं गएर शनिवार पुन ः १ बजे बस्नेगरी शुक्रवारको बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पार्टी बैठकहरुबाट मनोनितको शृंखलामा लगाम लगाउन स्थायी समितिको शुक्रवारको बैठकमा नेताहरु मापदण्डको सवालमा मुखर रुपमै प्रस्तुत भएको एक नेताले बताए ।
विहिबारबाट सुरु भएको बैठकमा मनोननयनका अलवा केन्द्रीय सल्लाहकार परिषद् गठन र कार्यविभाजनलगायतका विषय एजेण्डा राखिएका छन् । तर, एजेण्डामा छलफल केन्द्रीत हुनुअगावै स्थायी समितिमा थुप्रै नेताहरुले मापदण्ड बनाएर मात्र एजेण्डाहरु प्रस्तावका रुपमा प्रस्तुत हुनुपर्ने अन्यथा केन्द्रीय कमिटीले एकताका साथ पार्टीलाई रुपान्तरणका साथ अघि बढाउनका लागि गरेको निर्णय अर्थहीन हुने धारणा राखे । उपाध्यक्ष पृथ्बीसुब्बा गुरुङ गोकर्ण विष्ट, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईसहित थुप्रै नेताहरुले लगातार उस्तै धारणा राखेका थिए ।
८ असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले ७ जना स्थायी समिति सदस्य र ३३ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो । जसमा २० केन्द्रीय सदस्य मनोनित कोटाबाट र बाँकी १३ जना विभिन्न पार्टीबाट समायोजित भएकाहरु मनोनितमा परेका थिए । अब १० केन्द्रीय सदस्य, ६६ जना पोलिटब्यूरो सदस्य र ७ जना स्थायी समिति सदस्य मनोनित गर्न बाँकी छ ।
एमालेमा एघारौं महाधिवेशनमा उपाध्यक्षमा पराजित विष्णु रिमाल पदाधिकारी सो सरहको मर्यादामा रहनेगरी नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखका रुपमा मनोनित गरिएका छन् । यसअघि दुई पटकसम्म दोस्रो मर्यादाको वरिष्ठ नेताले सम्हालेको महत्वपूर्ण जिम्मेवारी पराजित रिमाललाई महाधिवेशनलगत्तै मनोनित गरेर दिइएपछि एमालेपंक्तिले माथिदेखि तलसम्मै प्रश्न उठाउँदै आएका छन् ।
एक पदाधिकारीका अनुसार बैठकमा अध्यक्ष ओलीले पराजितहरुलाई स्थान नदिइने बताएपछि बैठकमा एक सचिवले यसअघि नै मनोनित भइसकेको उनलाई स्मरण गराएपछि बैठकको माहौल अलग भएको थियो । जबकी, दुई पटक महासचिवमा झिनो मतान्तरले पराजित पूर्वअर्थमतन्त्रीसमेत रहेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे भने लामो समयदेखि जिम्मेवारीबाहिर छन् । यीनै कारण पनि बैठकमा अबको मनोनितको सवालमा मापदण्डको कुरा चर्कै स्वरमा उठेको ती पदाधिकारीले बताए ।


