काठमाडौं, २४ असोज ।
तीन दिनसम्म चलेको नेकपा एमालेको पहिलो स्थायी कमिटी बैठकले विभिन्न सात वटा निर्णय गर्दै शनिबार सकिएको छ ।
बिहीबारबाट सुरु भएको बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूका अधिवेशन, राष्ट्रिय भेलाको आयोजनालगायत सात निर्णय गरेको छ ।
बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत भएकी विद्यादेवी भण्डारीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी थिइन् ।
यस्ता छन् निर्णय :
१.पार्टीका वडास्तरका कमिटीहरुको अधिवेशन आगामी मंसिर २६ गते सम्पन्न गर्ने ।
२.नगर र गाउँपालिका तहका कमिटीहरुको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने ।
३.आगामी मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने छ ।
४. पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।
५.बैठकले मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।
६.बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।
७. बैठकले देहाय बमोजिम १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनयन हुनेहरुमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) ।


