काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दुरुपयोग गर्दै समानान्तर गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै त्यसलाई रोक्न माग गरेको छ ।
कांग्रेसको बैठकले पार्टीको १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले नयाँ नेतृत्वसहितको विवरण अद्यावधिक गरिसकेको अवस्थामा पुरानै नेतृत्वको नाममा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह प्रयोग भइरहेको भन्दै आपत्ति जनाएको हो ।
बैठकले देउवा पक्षलाई पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग नगर्न सचेत गराउने निर्णय गरेको छ । साथै, त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगलाई औपचारिक रूपमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री अजयबाबु शिवाकोटीले महाधिवेशनपछि आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेको अवस्थामा पनि कांग्रेसको नाम, झण्डा र चुनाव चिन्ह प्रयोग भइरहेको बताए ।
‘पन्ध्रौँ महाधिवेशन भइसकेपछि आयोगले अद्यावधिक गरिसकेको छ । त्यसपछि पनि कांग्रेसको नाम, चिन्ह र झण्डा जुन किसिमले दुरुपयोग भइरहेको छ, त्यसलाई रोक्न सचेत गराउने निर्णय भएको छ,’ उनले भने ।
उनका अनुसार पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई कांग्रेसका तर्फबाट पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।
स्थानीय निर्वाचनको तयारीमा कांग्रेस
बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि देशभरका ७५३ वटै स्थानीय तहमा पार्टीको वर्तमान अवस्था र चुनावी आधार अध्ययन गर्न केन्द्रबाट केन्द्रीय प्रतिनिधि खटाइने भएको छ ।
केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्यलाई प्रतिनिधिका रूपमा खटाएर दुई हप्ताभित्र सबै पालिकाको वस्तुस्थिति अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय भएको छ ।
प्रतिवेदन प्राप्त भएपछि मात्रै स्थानीय निर्वाचन लक्षित योजना, कार्यक्रम र रणनीति तय गर्ने कांग्रेसको निष्कर्ष छ ।
बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
बैठकमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा सहमहामन्त्रीहरू योगेन्द्र चौधरी, प्रकाश रसाईली स्नेही, जीवनबहादुर शाही, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी र डा. मो. फिरदोश आलमलगायत नेताहरूले प्रस्तावित एजेण्डामा धारणा राखेका थिए ।


