काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने भएको छ । अहिलेसम्म रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको कांग्रेसले अब सरकारका गलत कदमको भण्डाफोर गर्दै प्रतिवाद अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सरकारका गतिविधिलाई संविधान, लोकतन्त्र र विधिको शासनविरुद्धको प्रयासका रूपमा व्याख्या गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकको निर्णयसँगै कांग्रेस सरकारविरुद्ध राजनीतिक रूपमा आक्रामक हुने संकेत देखिएको छ ।
कांग्रेसले सरकार गठनपछि सार्वजनिक गरेका अधिकांश प्रतिबद्धता कार्यान्वयन हुन नसकेको, शासन सञ्चालनमा स्वेच्छाचारिता बढेको तथा भ्रष्टाचारविरुद्धको अनुसन्धान र कानुनी कारबाही पूर्वाग्रही ढंगले अघि बढाइएको आरोप लगाएको छ ।
सरकारले कानुन कार्यान्वयनका नाममा ‘सेलेक्टिभ’ अर्थात् छनोटपूर्ण कारबाही अघि बढाएको र लोकतान्त्रिक संस्थाहरूलाई नियन्त्रणमा लिन खोजेको कांग्रेसको निष्कर्ष छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारका गतिविधिले शासकीय अराजकता बढाएको आरोप लगाए ।
‘सरकारले शासकीय अराजकता बढाइरहेको छ । संविधान र लोकतन्त्र नै मास्न खोजिरहेको छ । त्यसैले कांग्रेसले आफूलाई शासकीय अराजकताविरुद्ध उभ्याउँदै संविधानले स्थापित गरेका मान्यताविरुद्ध सरकारले गरिरहेका गतिविधिको भण्डाफोर गर्ने निर्णय गरेको छ,’ उनले भने ।
सरकारले कांग्रेसको रचनात्मक प्रतिपक्षी भूमिकालाई कमजोरी ठानेर प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको शिवाकोटीको भनाइ छ । अब सरकारका गलत कदमविरुद्ध पार्टी दृढतापूर्वक उभिने उनले बताए ।
‘अहिलेसम्म कांग्रेसको रचनात्मक प्रतिपक्षको भूमिकालाई कमजोरी ठानेर प्रतिपक्षी आवाज लत्याउन खोजियो । त्यसैले अब सरकारका गलत कदमविरुद्ध सतिसालझैँ उभिएर पार्टीलाई अगाडि लैजाने निर्णय भएको छ,’ उनले भने ।
कांग्रेसले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने सरकारी प्रयास, लोकतान्त्रिक संस्थामाथि नियन्त्रणको प्रयास र कानुन कार्यान्वयनमा देखिएको छनोटपूर्ण व्यवहारको समेत विरोध गर्ने जनाएको छ ।
सरकारका गतिविधिको प्रतिवाद गर्ने निर्णयले कांग्रेस अब संसद्भित्रको आलोचनात्मक भूमिकामा मात्र सीमित नरहने संकेत गरेको छ । यद्यपि, भण्डाफोर अभियानको स्वरूप, कार्यतालिका र आन्दोलनका कार्यक्रमबारे भने बैठकले विस्तृत निर्णय सार्वजनिक गरेको छैन ।

