काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘क्यान्डिडेट क्लब’ समिति गठन गरेको छ ।
समितिमा संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा हिमेश पन्तसहित पाँच जना सदस्य मनोनीत भएका छन् । समितिको संयोजकमा बुर्लाकोटी रहेका छन् भने सदस्यहरूमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल रहेका छन् ।
समितिको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा छलफल गरेको छ । बैठकमा उम्मेदवारका आकाङ्क्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल भएको रास्वपाले जनाएको छ ।
त्यस्तै, पार्टीको परम्परागत संरचनाभन्दा बाहिर रहेका विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पनि उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने निर्णय गरिएको छ ।
उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ ।
स्थानीय तह निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्ने उद्देश्यसहित समितिले आवश्यक मापदण्ड, आवेदन प्रक्रिया तथा छनोटसम्बन्धी कार्यविधि तयार गर्ने काम अघि बढाएको रास्वपाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब समितिका संयोजकको सिफारिसमा निम्न सदस्यहरू सम्बन्धित गरिएको छ।
१. कविन्द्र बुर्लाकोटी, संयोजक
२. डा. नमिता यादव, सदस्य
३. सुलभ खरेल, सदस्य
४. हिमेश पन्त, सदस्य
५. शिव यादव, सदस्य
६. पारसमणि गेलाल, सदस्य
क्यान्डिडेट क्लब समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन देहायका विषयमा छलफल भयो।
१. उम्मेदवारका आकांक्षी तथा आवेदकहरूबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि र प्रक्रिया निर्धारण गर्ने।
२. विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन Lateral Entry (ल्याटेरल इन्ट्री) सम्बन्धी आवेदन फारम तयार गर्ने।
३. उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोध (Claim and Objection) सम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने।
धन्यवाद ।

