काठमाडौ,८ मङ्सिर ।
नेपाल सरकारले २९औँ मुख्य सचिवका रूपमा रक्षा मन्त्रालयका सचिव सुमनराज अर्याललाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सचिव रहेका अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर सीमा पूरा हुने भएकाले आगामी मंसिर १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन्। यही कारण सुमनराज अर्याललाई आजै मुख्य सचिव नियुक्त गरिएको हो।
सुमनराज अर्याल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सचिवका रूपमा काम गरिसकेका छन्। त्यसपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडाका रूपमा पुगेका थिए। राष्ट्रिय योजना आयोगमा सेवा दिएपछि उनी रक्षा मन्त्रालयका सचिव बनेका थिए।
मुख्य सचिव बनेपछि उनको कार्यकाल करिब आठ महिनाको मात्र रहनेछ। उनी ५८ वर्षे उमेर सीमा पूरा हुने भएकाले २०८३ साल असार २६ गतेदेखि अवकाशमा जानेछन्।
