काठमाडौ, ११ मङ्सिर ।
घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी–पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता भएको छ।
बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत दुवै समूहले एकताको घोषणा गरे। एकीकृत समाजवादी–पुनर्गठन अभियानका संयोजक घनश्याम भुसाल र नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले एकता सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) रहनेछ। साथै, एक महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने व्यवस्था गरिएको छ।
पत्रकार सम्मेलनमा संयोजक भुसालले दलहरूको विफलताकै कारण जेन–जी आन्दोलन जन्मिएको बताउँदै बाहिरी तथा भित्री आपराधिक मानसिकताका समूहहरूले त्यसलाई हिंसात्मक मोड दिएको आरोप लगाए।
त्यसैगरी, अध्यक्ष जोशीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको उल्लेख गर्दै, सन्तुष्टिपूर्वक एकता गर्ने निर्णयमा पुगेको बताए।
