काठमाडौं, ११ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको स्थानहद बारे सरकारले पुर्नविचार गर्दैछ भन्ने शंका उब्जिएको छ । निर्वाचनका लागि एमालेले राखेका शर्तबारेमा सरकार सकारात्मक बनेपछि यस्तो आशंका उब्जिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरेका बेला निर्वाचनका लागि वातवरण बनाएर जाने सन्र्दभमा पुर्नविचार गर्न सकिने संकेत गरिएको छ । विहिबार दिउसो सरकारसँग छलफलका लागि एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला सहभागी थिए । सरकार पक्षबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागी भएका थिए ।
प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउनको लागि दलका नेताहरूसँग संवादका क्रममा एमालेसँग सम्बन्ध सुधार्न थालेको र निर्वाचनका लागि सबै प्रकारको वातावरण बनाउने भनेपछि एमालेका नेताहरुले ओलीलाई तोकिएको स्थान हदबारे के हुन्छ भनेर जिज्ञासा राखेका थिए ।
एमालेले संसद पुनस्र्थापनाको मागसहित अदालतदेखि सडक संघर्षमा पनि उत्रिरहेको बेला गरिएको यो छलफलले कुनै निचोड निकालेको छैन तर सम्बन्ध सुधारको प्रयास गरेकोले स्थान हदबारे पुर्नविचार गर्न सक्ने संकेतहरु भएको स्रोतको दावी छ ।
छलफलपछि नेता महेश बर्तौला एमाले अध्यक्ष ओलीको स्थानहदबारे प्रश्न उठाएको बताए । ‘एमालेको अध्यक्ष केपी ओलीको स्थान हदका विषय किन आए भन्ने प्रश्न उठायौँ, मिडिया ट्रायल गरिएको छ । स्थान हद तोकिनु नै निर्वाचनको वातावरण बनेको छैन भन्ने प्रष्ट छ भनेर जनायौँ । तर यसमा उहाँको कुनै जवाफ आएन । यति ठूलो जनमत भएको पार्टी अध्यक्षलाई स्थान हद गरेर निर्वाचन हुन सक्दैन,’ बर्तौलाले भने ।
उनले अहिलेको सरकार गठनको विषय कानुनी प्रश्न भएकाले अदालती प्रक्रियाबाट टुंगो लगाइनुपर्ने र अदालतको आदेश मान्न आफूहरु तयार रहेको बताए । ‘सम्माननीय प्रधानमन्त्रीले एमालेलाई छलफलको लागि बोलाउनुभयो, निर्वाचनको विषयमा कुरा राख्नुभयो, एमालेले सहयोग गर्नुपर्ने कुरा राख्नुभयो’, उनले भने, ‘हामीले पहिले अहिलेको सरकार गठनकै सम्बन्धमा संवैधानिक परीक्षण टुंगो लगाउनुपर्छ र त्यसपछि निर्वाचनको निष्पक्षता र निर्भयताको विश्वासिलो वातावरण भएको छैन, शान्ति सुरक्षा र भयरहितको वातावरण छैन, मतदाताले भयरहित तरिकाले मतदानस्थलमा आउने वातावरण छैन भन्ने विषय उठायौँ ।’
एमाले नेताहरूले निवर्तमान आइजीपीमाथिको स्थान हदले सुरक्षा निकायलाई गम्भीर बनाएको, भागेका कैदीबन्दी, लुटेका हतियारको विषयमा गम्भीर चासो राखेको जनाए ।
यसको जवाफमा प्रधानमन्त्री कार्कीले सरकारले यो विषयमा चासो राखेको र दलहरूले निर्वाचनमा सहयोग पुराउनुपर्छ भनेर भनेको नेता बर्तौलाले जनाए । ‘हामीले जनताको बीचमा जान रुचाउने पाटी एमालेलाई निर्वाचनको अपिल गर्नुपर्ने होइन त्यसको वातावरण बनाउनुपर्छ भन्यौ ।’
सर्वोच्चमा रिट दर्ता अनि निर्वाचनमा दल दर्ता पनि भयो किन भन्ने प्रश्नमा उनले भने, ‘जनादेशबाहिरबाट सरकार बन्ने विषय गलत हो, लोकतन्त्रमा यस्ता कुरा सच्चाउनुपर्छ संवैधानिक परीक्षणमा गएका हौं दल दर्ताको विषयमा हामी क्लियर छौँ एमाले जनताको बीचबाट अनुमोदन हुन चाहन्छौ, कानुन र संविधान मान्छौँ, कानुनी हिसाबले अद्यावधिक हुने हाम्रो दायित्व हो, एमाले निर्वाचनबाट भाग्दैन कसैलाई भ्रम नहोस् ।’ प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले सबै प्रकारको वातारण बनाउने र त्यसका लागि राजनीतिक दलहरुको सहयोग आवश्यक रहेको समेत बताएकी थिइन ।
