काठमाडौ , १४ मङ्सिर ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका छन्। उनले चुनावबारे कुनै पनि प्रकारको दुविधामा नबस्न आग्रह गर्दै चुनावी तयारी तीव्र गतिमा अघि बढिरहेको बताए।
आइतबार पोखरामा आयोजित प्रदेश-स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालका छिमेकी राष्ट्रहरू—चीन, भारतलगायत चुनावप्रति सकारात्मक रहेको बताएका छन्।
उनका अनुसार सरकार पनि चुनावको वातावरण बनाउन वार्तामा व्यस्त छ।
“कोही पनि दुविधामा बस्नुपर्ने आवश्यकता छैन। फागुन २१ गते चुनाव हुन्छ र हुनैपर्छ। हाम्रो एकता सभा सकिँदासम्म चुनावी माहोल पूर्ण रूपमा बन्नेछ,” उनले भने।
उनले अहिलेको सरकार आफू र माधवकुमार नेपालको पहलमा बनेको भन्दै सरकारले यो तथ्य नबिर्सनुपर्ने टिप्पणी गरे।
“जसको जनाधार ठूलो छ, उसलाई ‘भेट्दिनँ’ भनेर संवादबाट टाढा राख्नु भनेको चुनावी माहोल बिगार्ने काम हो। भदौ २६ गते राति राष्ट्रपतिसँग बसेर प्रधानमन्त्री बनाउने सहमति मैले र माधवजीले गरेका हौं,” प्रचण्डले भने।
उनका अनुसार देशभर चुनावी वातावरण मजबूत बनाउनकै लागि एकता सभा आयोजना गरिएको हो।
