काठमाडौं, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारविरुद्ध आन्दोलनको तयारी सुरु गरेको छ । तिहारलगत्तै आन्दोलनको मूभ बनाउने उद्देश्यले नेकपाले मंसिर महिनाभरी राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय नै गरेको छ ।
केन्द्रीय कार्यसंयोजन समितिको शुक्रवारको बैठकले त्यस्तो अभियान संचालन गर्ने निर्णय गरेको जनाइएको छ । अभियानको उद्घाटन ७ कार्तिकमा बृहत् पत्रकार सम्मेलनसहित घोषणा गरिने प्रवक्ता प्रकाश ज्वालाले बताए ।
अभियान २५ मंसिरमा सम्पन्न हुनेछ । ‘यो अभियान पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीको रूपमा सञ्चालन गरिने छ ।’ ज्वालाले भने ।
अभियान अन्तर्गत पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने, संगठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने, पार्टीका बैठक भेला, प्रशिक्षण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने, जनता र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउन जनता केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, सांस्कृतिक लगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने, जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेश गर्ने र कार्यान्वयनका लागि पहल गर्ने, श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने, विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाका कार्यहरूमा सहयोग गर्ने लगायतका जनसम्बन्ध तथा संगठन सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन हुने पनि जनाइएको छ ।
‘अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुनेछ । बैठकले अभियान सञ्चालन कार्यबिधि तथा कार्ययोजना पारित गरेको छ ।’
विज्ञप्तिमा भनिएको छ ।
अभियान सकिएपछि मंसिर महिनाको अन्तिम साता केन्द्रीय कमिटी बैठक आयोजना गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, आगामी ११ पौषदेखि देशभरिका सम्पूर्ण वडाहरूमा एकै दिन पार्टीका वडा अधिवेशनहरू आयोजना गरिने र १५ माघमा देशभरिका सम्पूर्ण पालिकाहरू (महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका) मा एकै दिन पार्टीका पालिका अधिवेशनहरू आयोजना गरिनेछन् ।


