काठमाडौँ, १५ मंसिर।
हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लक्षित गर्दै नेकपा एमालेसहित केही समूहहरूले कार्यक्रम बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले आफूहरू पोखरामा नयाँ पुस्ता (जेन–जी) को संगठन विस्तार तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाटका लागि निस्किएको बताए। तर, आफ्नो टोली पोखरा आउने जानकारी सार्वजनिक भएपछि विभिन्न समूहहरूले अवरोध सिर्जना गर्न खोजेको दाबी गरे।
गुरुङले भने, “पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबा तथा दाजुभाइ-दिदीबहिनीहरू भेट्न हामी निस्किएका हौँ। तर हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको जानकारी पाएको छु।”
विपक्षी शक्तिहरूले अवरोध गरे पनि आफ्नो अभियान रोकिएर नबस्ने स्पष्ट गर्दै उनले विगतमा पनि देशका लागि लडेझैँ अहिले पनि पछाडि नहट्ने बताए।
“हामी हिजो देशका लागि लडेर आएका हौँ। आज अरूसँग सामना गर्न डराउने कुरा नै छैन। हामी सधैं सत्य र देशको पक्षमा उभिन्छौँ,” उनले भने।
युवाहरूको आवाज र साथबाट अभियान अझ सबल हुँदै जाने जिकिर गर्दै गुरुङले गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने घोषणा गरे।
