धनगढी, १६ मंसिर ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुने स्पष्ट गर्दै निर्वाचनबारे अनावश्यक शंका र भ्रम नफैलाउन सबैलाई आग्रह गरेका छन्।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको धनगढीमा मंगलबार उद्घाटन गर्दै मन्त्री अर्यालले केही फरार कैदीबन्दी र केही थान हतियार बाहिर रहेको भन्दै चुनाव रोकिने परिस्थिति नरहेको बताए।
‘सरकार घोषणा गरिएकै मितिमा स्वच्छ, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्न दृढ छ,’ उनले भने।
४,५५२ कैदीबन्दी फरार, ७२७ हतियार फिर्ता
गृहमन्त्रीका अनुसार देशभर हाल ४,५५२ कैदीबन्दी फरार छन्। तीमध्ये कर्तव्यज्यान तथा जघन्य अपराधमा संलग्नहरूको संख्या न्यून रहेको उनले जानकारी दिए।
त्यसैगरी, सरकारले हालसम्म ७२७ हातहतियार फिर्ता ल्याइसकेको उनले बताए।
जेन-जी आन्दोलनपछि सुरक्षा संयन्त्र लयमा फर्कँदै
भाद्र २३ र २४ का घटनापछि दैनिक प्रशासनिक कार्यसमेत प्रभावित भएको उल्लेख गर्दै मन्त्री अर्यालले भौतिक पूर्वाधार र सवारी साधनमा क्षति पुगेका कारण केही समय चुनौती आए पनि अहिले सुरक्षा अवस्था सामान्य अवस्थामा फर्किसकेको बताए।
‘शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहमा गृह प्रशासन निष्ठापूर्वक कार्यरत छ,’ उनले भने।
मन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख एजेण्डा विधिको शासन, गैरकानुनी हस्तक्षेप अन्त्य र भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको दोहोर्याए।
‘कुशासन र वेथितिविरुद्ध उठेका जेन-जी युवाहरूका मागलाई सरकारले गम्भीरतापूर्वक सुनेको छ,’ उनले भने।
चुनाव तयारीमा मनोवैज्ञानिक चुनौती पनि
चुनाव तयारीका क्रममा केही चुनौती देखा परे पनि तीमध्ये धेरै मनोवैज्ञानिक रहेको बताउँदै उनले भने, ‘सरकार हत्या–हिंसाको पक्षमा छैन। अराजकताविरुद्ध कडाइका साथ संयन्त्र चलाइरहेका छौँ। सुरक्षाका मनोवैज्ञानिक चिन्तामा नपर्नू।
देश निर्माणको दायित्व सबैको साझा रहेको उल्लेख गर्दै मन्त्री अर्यालले राजनीतिक दल र नागरिकलाई समन्वय र सहकार्य मजबूत बनाउन आग्रह गरे।
‘यो सरकार सबैको साझा हो। सबैका भावनालाई समेट्दै लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनतर्फ अघि बढिसकिएको छ,’ उनले स्पष्ट पारे।
