काठमाडौ, २४ मङ्सिर ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा बयान दिन जाने विश्वास व्यक्त गरेका छन्। आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार बनेका पोखरेलले बुधबार ‘सम्पादकसँग कुराकानी’ कार्यक्रममा बोल्दै आयोगमा उपस्थित हुनु स्वाभाविक रहेको बताए।
पोखरेलका अनुसार, आफू भए झनै पहिले नै आयोगमा गएर बयान दिन तयार हुने थिए। उनले भने, “आयोगमा बयान दिनु स्वाभाविक हो। त्यसको अवज्ञा गरेर राम्रो हुँदैन।” तर, आयोगका अध्यक्ष कार्कीले प्रारम्भमै दिएको अभिव्यक्तिले नै प्रश्न खडा गरेको उनले टिप्पणी गरे।
“आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले आफूलाई मान्यताका साथ प्रस्तुत गर्ने शैलीमै प्रश्न छन्,” पोखरेलले भने। यद्यपि उनले अध्यक्ष ओलीले पनि आवश्यक तथ्यसहित आयोगमा जानुपर्ने धारणा व्यक्त गरे। “हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ,” उनले थपे।
सरकारले भदौ २३ को जेन–जी आन्दोलन र भदौ २४ का विध्वंसकारी घटनाबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। तर आयोग गठन हुनु अघि नै कार्कीले सार्वजनिक रुपमा दिएको टिप्पणी विवादित बनेपछि एमाले अध्यक्ष ओलीले आयोगमा नजाने घोषणा गरेका थिए।
