काठमाडौं, २५ मङ्सिर ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले जेन-जी आन्दोलनपछि पार्टी जनताबीच फर्किसकेको बताएका छन् ।
उनले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरेका छन्। एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले कठिन परिस्थितिबाट पुनः उठेर संगठनलाई मजबुत बनाएको बताए।
एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि बताए । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले भने।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश गम्भीर संकटमा प्रवेश गरेको र राज्यका अंगमा अराजकता फैलिएको उनको मूल्यांकन छ। ‘जेन–जीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार गर्यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भने।
जेन–जी आन्दोलनमा टेकेर भदौ २४ गते देशमा विध्वंश मच्चाइएको पनि उनले बताए । त्यसपछि गैरसंवैधानिक बाटोबाट सरकार बनाउने र संसद् विघटनको खेल भइसकेको पनि उनको तर्क छ।
अहिले जेन-जी आन्दोलनमा भएको हिंसा र विध्वंशमा एमालेलाई जिम्मेवार ठहर्याउने प्रयास भइरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने माग पनि त्यही वातावरणमा उठाइएको बताए। ‘हल्लाका भरमा नेतालाई हटाउने कुरा हुँदैन। वैधानिक फोरम छ भने त्यही बाटो अपनाओस्,’ राईले दोहोर्याए।
राईले देशका ठूला दल कमजोर अवस्थामा रहेको उल्लेख गर्दै नेपाल कांग्रेसजस्ता पुराना दलसमेत उभिन नसकिरहेको बताए। ‘कतिपय दल विघटन भइसके। नयाँ दल बनिरहेका छन्। एमाले पनि स्तब्धजस्तै देखिएको थियो। ६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ,’ उनले भने।
वडादेखि सहरसम्म पार्टीको पुनः सक्रिय उपस्थिति देखिएको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान एमालेले महाधिवेशनबाट स्पष्ट गर्ने बताए।
‘जेन-जी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। कता जान्छ भन्ने अनिश्चितता छ। त्यसैले एमालेले अब देशकै नेतृत्व लिन तयार भएको छ,’ राईले भने।
उनले एमालेमा अर्ली महाधिवेशन भइरहेको पनि बताएका छन् । एक वर्षअघि नै महाधिवेशन गरेर एमालेलाई नयाँ चुनौती सामना गर्ने शक्ति बनाउन लागिएको उल्लेख गरे ।
हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प गरेका छौँ । मिसन ०८४ को लक्ष पनि त्यही भएर तय गरेका थियौँ । एघारौँ महाधिवेशनपछि हामी अझै बलियो रुपमा अगाडि आउँछौँ ।
देशले पनि केपी ओलीको विकल्प सोचेको छैन
स्थायी कमिटी सदस्य शेरधन राईले अहिले देशले नै अध्यक्ष केपी शर्मा ओलीको विकल्प नदेखेको बताएका छन् ।
अध्यक्ष ओलीलाई रोक्न विभिन्न देशी–विदेशी प्रयास भए पनि नेतृत्वको प्रश्नमा जनता र पार्टी दुवै पक्षमा स्पष्ट धारणा बनेको पनि बताएका छन् ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले ओलीको नेतृत्वमा एमाले मात्रै होइन, देशले पनि गतिशीलता पाउने विश्वास व्यक्त गरे।
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको क्षति रोक्न नसकिएको स्वीकार गर्दै उनले ‘सम्पदा जोगाउन ध्यान दिन नसक्नु कमजोरी’ रहेको उल्लेख गरे।
देश अहिले संवैधानिक र राजनीतिक संकटबाट गुज्रिरहेको पनि उनले बताए । ‘यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिमाथि आक्रमण भइरहेको छ’, उनले भने, ‘यस्तो बेला सबै शक्ति गोलबन्द हुनुपर्छ। देशले अहिले ओलीको विकल्प सोचेको छैन ।’
राईले केपी ओलीलाई ११ औं महाधिवेशनको मुख्य नेतृत्वका रूपमा पार्टीले पहिल्यै मान्यता दिइसकेको बताए। भदौ २० देखि २२ गते ललितपुर गोदावरीमा भएको दोस्रो विधान महाधिवेशनले पनि ओलीलाई नेतृत्वका रूपमा स्थापित गरेको उनको भनाइ छ।
‘राजनीति उमेर वा कार्यकालले मात्र चल्दैन, सही नीति र नेतृत्वले चल्छ,’ उनले भने। दैनिक १८ घण्टा काम गर्ने ओलीको क्षमतालाई उदाहरण दिँदै राईले उमेर र कार्यकालको विषय पनि दोस्रो विधान महाधिवेशनले व्यवस्थित गरिसकेको बताए।
उनले जेन-जी आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिमा एमालेको नेतृत्वमा केपी शर्मा ओलीलाई नेतृत्वमा ल्याएर देशलाई सही दिशा दिने पनि बताएका छन् ।
ओलीविरुद्धको प्रहार र मिडिया ट्रायलको अर्थ छैन
राईले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अहिले योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएका छन्।
उनले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको संवेदनशील परिस्थितिमा एमाले ११ औं महाधिवेशनतर्फ अघि बढिरहेको बेला ओलीको नेतृत्व रोक्न विभिन्न प्रयास भएका बताए ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले ओलीमाथि भइरहेको प्रहारलाई महाधिवेशनले पराजित गर्ने दाबी गरे। ‘एकातिर महाधिवेशनको तयारी छ, अर्कोतिर ओलीको विकल्प भन्ने कुरा निरन्तर उठाइँदैछ। गाली, हल्ला र योजनाबद्ध प्रहार भइरहेको छ,’ उनले भने।
उनले अध्यक्ष केपी शर्मा ओली जेल जाछन् भन्ने हल्ला समेत फैलाइएको बताएका छन्। ‘मिडिया ट्रायल भइरहेको छ। ओलीलाई थुनिँदैछ भन्ने गलत सूचना छरिएको छ। पार्टीभित्रका केही बलिया नेताले चुनौती दिएको कुरा पनि सुनिन्छ,’ उनले बताए।
राईले भदौ २३ र २४ को घटनाका पछाडि धेरै कारण भएको बताउँदै राज्य संयन्त्रलाई सुधार गर्न राजनीतिक नेतृत्वले पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे।
उनले सुशासनका धेरै प्रतिवद्धता कार्यान्वयन हुन नसकेको र कर्मचारी तन्त्रमा कमीशन संस्कृति कायम रहनु ठूलो समस्या रहेको बताए।
राईले संघीयता मन नपराउने शक्तिले पनि निरन्तर दबाब बनाइरहेका बताएका छन्। ‘समय कुर्दै भदौ २३ र २४ गते आक्रमण गरियो। युवा पुस्ताको भावनालाई उपयोग गरेर प्रहार गरियो,’ उनले भने।
राईले अघिल्लो राजनीतिक परिवर्तन सबै दल मिलेर सम्भव भएको उल्लेख गर्दै अब त्यसलाई जोगाउन राज्यका अंगहरू प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
