भक्तपुर, २७ मङ्सिर ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनबाट भाग्ने भन्ने आरोप निराधार रहेको बताएका छन् । शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले डर, दबाब र प्रतिशोधमुक्त वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउने क्षमता राख्ने दाबी गरे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गराउने दिशामा कुनै गम्भीर तयारी नगरेको आरोप लगाए । उनका अनुसार चुनाव चाहने सरकारले सबै दलको विश्वास जित्ने, निर्णय प्रक्रियामा पारदर्शिता अपनाउने र निर्भय वातावरण सुनिश्चित गर्ने काम गर्थ्यो । तर अहिले संवादको सट्टा निषेध, धम्की, मिडिया ट्रायल र राजनीतिक षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
उनले प्रतिनिधिसभा तुरुन्त पुनःस्थापना गरी देशलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनुपर्ने माग दोहोर्याए । सरकारलाई फागुन २१ मा निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश भए पनि त्यसअनुसार तयारी नदेखिएको उनले बताए ।
अध्यक्ष ओलीले भने, “लोकतन्त्रमा लोकतान्त्रिक विधिबाट, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा चुनाव हुनुपर्छ । साँचो प्रतिस्पर्धा हुनुपर्छ । डर, दबाब र प्रतिशोधबाट मुक्त चुनाव भए एमाले चुनावबाट भाग्दैन ।”
उनले अहिले चुनावको कुरा मात्र गरेर देशलाई अलमल्याउने काम भइरहेको र व्यवहारमा निर्वाचन प्रक्रिया अघि नबढेको दाबी गरे ।
