काठमाडौँ, २९ मंसिर ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता द्वारिकाप्रसाद न्यौपानेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । कैलालीबाट महाधिवेशन प्रतिनिधि भएर आएका न्यौपानेले सोमबार औपचारिक रूपमा केन्द्रीय सदस्यमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
उम्मेदवारी दर्ता लगत्तै न्यौपानेले पार्टी र मुलुक दुवैका लागि अब युवाको नेतृत्व अपरिहार्य भइसकेको बताएका छन् । ‘अहिले पार्टीलाई मात्रै होइन, देशलाई नै युवाहरूको नेतृत्व आवश्यक छ । यही आवश्यकता बोध गरेर मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘युवा पंक्तिले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन सञ्चालनमा प्रभावकारी भूमिका खेल्न सक्छ ।’
२०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट कैलाली–१ (प्रदेशसभा २) का उम्मेदवार रहेका न्यौपानेले त्यसबेला ‘नमुना टीकापुर’ निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए । हाल उनी पार्टी निर्माणमा युवाको भूमिका रोजगारी, अर्थतन्त्र र ऊर्जा क्षेत्रसँग जोडिएर हुनुपर्ने अवधारणाका साथ अघि बढिरहेका छन् ।
केन्द्रीय सदस्यका उम्मेदवार न्यौपानेले अबको पुस्ताले पार्टी नेतृत्व सम्हाल्ने दायित्व लिइनुपर्ने उल्लेख गर्दै पार्टी र जनताबीचको सुदृढ सम्बन्धबाट मात्र विकास सम्भव हुने तर्क अघि सारे । ‘अबको नेतृत्व वैचारिक, उद्यमशील र रोजगारमुखी हुनुपर्छ,’ उनले भने, ‘रोजगार सिर्जना र उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने पार्टी मात्र जनतामा टिक्छ । नेकपा एमाले जनताको पार्टी बनाउने अभियानमा हामी छौँ ।’
अनेरास्ववियू हुँदै केन्द्रीय राजनीतिमा सक्रिय भएका न्यौपाने जिल्ला राजनीतिमा समेत समन्वयकारी भूमिकामा चिनिन्छन् । उनी स्वयं ऊर्जा क्षेत्रका उद्यमी समेत हुन् । सुदूरपश्चिममा पार्टीभित्र देखिएको नेतृत्वको रिक्तता पूर्ति गर्ने गरी उनले सक्रिय भूमिका निर्वाह गर्दै आएको पार्टी नेताहरू बताउँछन् ।
उनका अनुसार यस महाधिवेशनबाट युवाहरूको ठूलो पंक्ति केन्द्रीय नेतृत्वमा आउने प्रक्रियामा छ, र आफू पनि त्यस अभियानको हिस्सेदार बन्न चाहन्छन् ।
जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्थालाई उल्लेख गर्दै न्यौपानेले एमालेको महाधिवेशन विशेष महत्त्वको हुने बताए । ‘युवाहरूको भूमिकाबारे पार्टीभित्र गम्भीर बहस भइरहेको छ । यस्तो अवस्थामा प्रतिनिधिहरूले पनि सक्रिय, सक्षम र युवा नेतृत्व खोजिरहेका छन्,’ उनले भने, ‘म लामो समयदेखि युवा पंक्तिको नेतृत्व गर्दै आएको छु ।’
युवा नेता तथा व्यवसायी न्यौपानेले राजनीति गर्नेले आफ्नो कर्म र पेशागत जिम्मेवारीलाई पनि इमानदारीपूर्वक निभाउनुपर्ने धारणा राखे । ‘राजनीतिसँगै कर्ममा जोडिन सकियो भने सदाचार कायम रहन्छ,’ उनले भने, ‘म नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने जिम्मेवारी लिएर अघि बढेको छु ।’
