काठमाडौं, ३ पुस । नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिहरू हेरफेर भएका छन्। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ। नेपाली सेनामा तीन दशकभन्दा बढी बिताएका कार्कीले यसअघि १६ नं. र १८ नं. बाहिनीको कमाण्ड गरेका थिए।
यस्तै उनले प्रधानसेनापतिको सचिवालय र राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि काम गरेका थिए। यसअघिका पृतनापति सन्तोष बल्लव पौडेल सरुवा भएपछि कार्कीले पश्चिम पृतनाको जिम्मा पाएका थिए।
पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई सरुवा गरिएको छ। थापा यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा कार्यरत थिए।
थापा गत भदौ ९ गते सहायक रथीबाट उपरथीमा बढुवा भएका थिए। बढुवासँगै उनले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका थिए। तीन महिनापछि पृतनाको कमाण्ड गर्ने जिम्मा पाएका हुन्।
त्यस्तै, मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएका छन्। ३६ वर्षदेखि नेपाली सेनामा कार्यरत पाठकले यसअघि सैनिक वार कलेजसँगै विभिन्न युनिटको कमाण्ड गरेका छन्।
उनले अनुसन्धान तथा विकास निर्देशनालयको निर्देशक, नम्बर ४ बाहिनीको कमाण्डर, आपूर्ति तथा यातायात निर्देशनालयको निर्देशक र साइबर सुरक्षा निर्देशनालयका निर्देशकको रूपमा पनि काम गरिसकेका छन्।
पाठकको सरुवासँगै अब मध्य पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्काले पाएका छन्। खड्का यसअघि जंगी अड्डामा अतिरिक्त समूहमा थिए।
यस्तै मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको पनि सरुवा भएको छ। पुनलाई जंगी अड्डा सरुवा गर्दै उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा खटाइएको छ। विष्ट स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए।
यस्तै मध्य पृतना र मध्य पश्चिम पृतनाको जिम्मेवारी पाएका खड्का र विष्ट एकसाथ उपरथीमा बढुवा भएका थिए। उनीहरूले २०८२ कात्तिक १६ गते उपरथीको दज्र्यानी पाएका थिए। सँगै बढुवा भएका उनीहरूले पृतनाको कमाण्ड गर्ने अवसर पनि सँगै पाएका हुन्।
सेनाका ८ वटा पृतनामध्ये अन्य ५ पृतनामा भने पृतनापति यथावत छन्। सुदूरपश्चिम पृतनामा उपरथी किरण केसी, उत्तरपश्चिम पृतनामा दिपेशजंग शाह, मध्यपूर्व पृतनामा कृष्णबहादुर जिसी, पूर्वी पृतनामा उपरथी गौरवकुमार केसी र उपत्यका पृतनामा रविन्द्र खत्री कार्यरत छन्।
